महिलाले ५ सय रक्सीका बोतल फोडिन्


लन्डन, (एजेन्सी)

रक्सीले मात्तिएकी एक महिलाले बेलायतको एउटा सुपरमार्केटमा सयौं बोतल वाइन र ह्विस्की फोरेर बबाल मच्चाएकी छन् ।

अचानक बेलायतको स्टिभिनेजस्थित आल्डी सुपर मार्केटमा प्रवेश गरेकी उनले १ लाख ३० हजार अमेरिकी डलर मूल्य बराबरको ५ सयवटा रक्सीका बोतल फुटाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा खरानी रंगको हुडी र खाकी रंगको पाइन्ट लगाएकी तथा एउटा ब्याकप्याक बोकेकी ती महिलाले धमाधम सुपर मार्केटको सोकेसमा राखिएका बोतल निकाल्दै भुइँमा फालेको देखिन्छ । ती महिलाको पछाडि भुइँमा फुटेका काँच छरिएको र रक्सी र वाइनको आहल देखिन्छ ।

एक पुरुषले आफूले जीवनमा कहिल्यै यस्तो दृश्य नदेखेको बताइरहेको पनि सुनिन्छ । सो भिडियो फुटेजमा अन्त्यमा एक प्रहरी अधिकारीले उनलाई समाएर सुपर मार्केटबाहिर लगेको पनि देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमले घटना क्रममा दायाँ हातमा चोट लागेकी ती महिलालाई पक्राउ गरी अस्पतालमा उपचार गराइरहेको जनाएका छन् ।