कोभिडसम्बन्धी नक्कली प्रमाणपत्रधारी पक्राउ


नैरोबी, (एजेन्सी)

केन्याका सुरक्षार्मीले ‘कोभिड–१९ मुक्त उल्लेखित’ नक्कली प्रमाणपत्र पेस गरी केन्याबाट संयुक्त अरब इमिरेट्स (यूएई) जान खोज्ने २१ केन्याली नागरिकलाई शनिबार गिरफ्तार गरेको छ । ती पर्यटकहरुले नक्कली प्रमाणपत्र पेस गरेको भन्दै यूएईले केन्यालीमाथि भिसा प्रतिबन्ध लगाएपछि केन्याली सुरक्षाकर्मीले यो कदम उठाएका हुन् ।

स्थानीय सञ्चारमाध्यमले तिनीहरुलाई आगामी शुक्रबार अदालतमा उपस्थित गराइने जनाएका छन् । केन्यामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बढिरहेको छ । बिहीबारदेखि सरकारले सार्वजनिकस्थलमा हुने जमघटमाथि कडाइ गरेको छ ।

यसै साताको शुरुदेखि यूएईले केन्या, सोमालिया, लिबिया, ट्युनिसिया, अल्जेरियालगायतका १३ वटा मुलुकका नागरिकलाई भिसा दिन नै बन्द गर्ने निर्णय गरेको थियो । दुबईतर्फ जाने तयारीमा रहेका ती २१ जनालाई केन्याको राजधानी नैरोबीस्थित प्रमुख विमानस्थलबाट बिहीबार पक्राउ गरिएको थियो ।