संसद्मा मुक्कामुक्कीसँगै बंगुरको मासु हानाहान


ताइपेई, (एजेन्सी)

संयुक्त राज्य अमेरिकाबाट हुने बंगुरको मासु आयात कार्यलाई सहजता प्रदान गर्ने विषयलाई लिएर ताइवानी संसद्मा अचानक चर्काचर्की बहस हुँदा मुक्कामुक्की शुरु हुनासाथ विपक्षी विधायकहरुले विरोध स्वरूप बंगुरको मासुले प्रहार गरेका छन् ।

ती विधायकहरुले हालै मात्र सरकारले राक्तोपामाइन नामक प्रतिबन्धित रासायनिक पदार्थ राखिएको अमेरिकी बंगुरको मासु आयातका लागि अनुमति दिएर गलत निर्णय गरेको बताएका छन् ।

मानव स्वास्थ्यमा खतराका हुने भन्दै रासायनिक पदार्थ राखिएको यो खाद्य वस्तु ताइवान र युरोपेली संघ (ईयू) मा प्रतिबन्धित रहेको छ ।

तर, सत्तारूढ पार्टीले यो आरोप अस्वीकार गर्दै तार्किक बहसमा फर्कन विपक्षी राजनीतिक समूहलाई आह्वान गरेको छ । ताइवानको संसद्मा यसअघि पनि पटक–पटक मुक्कामुक्की भइसकेको छ ।

ताइवानको प्रमुख विपक्षी कोमिन्ताङ (केएमटी) पार्टीका विधायकहरुले शुक्रबार प्रधानमन्त्री सु सेङ–चाङलाई प्रश्न लिनबाट रोक्न बाल्टिनका वाल्टिन बंगुरका आन्द्राभुँडी फ्याँकेका थिए ।