म कोरोना खोप लिन्न : बोलसोनारो


ब्रासिलिया, (एजेन्सी)

ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले कोरोना खोप नलगाउने घोषणा गरेका छन् । खोप नलगाउने निर्णय आफ्नो अधिकार भएको बोलसोनारोले बताए ।

कोरोना कहरका कारण विश्व नै खोपको प्रतीक्षामा रहेका बेला राष्ट्रपति बोलसोनारोको उक्त निर्णयले सबैलाई अचम्मित तुल्याएको छ । राष्ट्रपति बोलसोनारोले खोपप्रति नै अविश्वास व्यक्त गरेका छन् । बोलसोनारोले बिहीबार आफूले खोप नलिने बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

संक्रमण रोक्न जारी खोप परियोजनामा पनि उनले प्रश्न उठाए । कोरोना भाइरसबाट मृत्यु हुने मामिलामा ब्राजिल दोस्रो स्थानमा छ । राष्ट्रपति बोलसोनारोले भने– ‘म तपार्इंहरुलाई भनिरहेको छु, म यो खोप लिन्नँ । यो मेरो हक हो ।’

यसबीच बोलसोनारोले कोरोना महामारी रोकथामका अन्य उपायमाथि पनि प्रश्न उठाए । उनले मास्कको उपयोगितामाथि पनि आशंका व्यक्त गरे । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सेन्टर्स फर डिजिज प्रिभेन्सन एन कन्ट्रोल (सीडीसी) जस्ता अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था लगातार मास्क लगाउन जोड दिइरहेका छन् ।

यद्यपि बोलसोनारोले ब्राजिलको स्वास्थ्य एजेन्सीद्वारा प्रमाणित कुनै पनि खोप जनताका लागि निःशुल्क उपलब्ध गराउने बताए । ब्राजिलका राष्ट्रपति गत जुलाईमा कोरोना भाइरस संक्रमित भएका थिए । उनले लकडाउनबाट हुने नोक्सान महामारीको भन्दा भयानक हुने बताएका थिए । वैज्ञानिक अध्ययनका बाबजुद रोगको उपचारका लागि मलेरियाविरुद्धको औषधिलाई उनले पटक–पटक प्रचार गरे जुन प्रभावहीन र सम्भवतः खतरनाक पाइयो ।

कांग्रेसले खोप लिन नचाहने कसैलाई पनि अप्ठ्यारो नबनाउने आश्वासन उनले दिएका छन् । अमेरिकी जर्नल अफ प्रिभेन्टिव मेडिसिनले जुलाईमा प्रकाशित गरेको एक शोधका अनुसार यदि सामाजिक रूपमा कम्तीमा ७५ प्रतिशतले खोप प्राप्त गर्छ, जसको प्रभावकारिता ७० प्रतिशत छ भने पनि सामाजिक सुरक्षा उपायबाट सुरक्षितरूपमा संक्रमणलाई रोक्न सकिनेछ ।

ब्राजिलका इन्स्टिच्युट फर हेल्थ पोलिसी स्टडिजका कार्यकारी निर्देशक मिगुएल लागोले एसोसिएटेड प्रेसलाई भनेका छन्– ‘बोलसोनारोको बयान एक भयानक संकेत हो । यदि उनी कम लोकप्रिय राष्ट्रपति हो भने यसको अत्यन्त कम मात्र प्रभाव पथ्र्यो तर उनी धेरैका लागि नायक हुन् । उनका कट्टर समर्थकहरूले खोप लगाउने छैनन् र यसले अधिक राजनीतिक विवाद उत्पन्न हुन सक्छ ।’