कोरोना भारतबाट फैलिएको चिनियाँ वैज्ञानिकहरूको दाबी


बेइजिङ, नयाँदिल्ली, (एजेन्सी)

विश्वमा कहर मच्चाइरहेको कोरोना भाइरसको स्रोतलाई लिएर पटक–पटक नयाँ तथ्य बाहिर आउने गरेको छ । यसबीच चीनले भारतबाट पहिलोपटक कोरोना भाइरस विश्वमा फैलिएको दाबी गरेको छ ।

चीनको एकेडमी अफ साइन्सेजका वैज्ञानिकको एक टोलीले कोरोना भाइरस सम्भवतः भारतमा सन् २०१९ को गर्मीमा उत्पन्न भएको बताएको छ । उक्त चिनियाँ टोलीले कोरोना भाइरस पशुको दूषित जलका माध्यमबाट मानवमा प्रवेश गरेको बताएका छन् ।

त्यसपछि मात्र कोभिड–१९ उहान पुगेको र पहिचान मात्र चीनमा भएको चिनियाँ वैज्ञानिकहरूको दाबी छ । शोधपत्रमा चिनियाँ दलले कोरोनाको स्रोत पत्ता लगाउन फिलोजेनेटिक विश्लेषण (कोरोना भाइरस म्युटेट हुने तरिकाको अध्ययन) को सहयोग लिएको बताइएको छ ।

‘अन्य सबै कोषहरु जस्तै भाइरस पनि परिवर्तन हुन्छ र फेरि उत्पन्न हुन्छ । यस क्रममा भाइरसको डीएनएमा सामान्य परिवर्तन आउँछ’, चिनियाँ वैज्ञानिकहरुले भनेका छन्– ‘जुन भाइरस अत्यन्त कम म्युटेसन भएको छ त्यसलाई पत्ता लगाई कोरोना भाइरसको स्रोत पत्ता लगाउन सकिन्छ ।’

चिनियाँ वैज्ञानिकहरुले यसै विधिको प्रयोग गरी उहानमा प्राप्त कोरोना भाइरस वास्तविक भाइरस नभएको दाबी गरेका छन् । जाँचमा कोरोना भाइरसका बंगलादेश, अमेरिका, ग्रिस, अस्ट्रेलिया, भारत, इटाली, चेक रिपब्लिक, रुस वा सर्बियामा उत्पन्न भएको संकेत प्राप्त भएको वैज्ञानिकले दाबी गरेका छन् ।

चिनियाँ शोधकताहरुले भारत र बंगलादेशमा सबैभन्दा कम म्युटेसन भएका नमुना प्राप्त भएको बताएका छन् । भाइरस म्युटेसनमा लागेको समय र ती देशबाट लिइएका नमुनाका आधारमा चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस सन् २०१९ जुलाई वा अगस्टमा पहिलोपटक फैलिएको हुन सक्ने बताएका छन् ।

चीनका एक वैज्ञानिकले भने– ‘पानीको अभावका कारण बाँदर जस्ता जंगली जनावर पानीका लागि प्रायः झगडा गर्छन् र यसले निश्चित रूपमा मानव तथा जंगली जनावरबीच सम्पर्कको खतरा बढेको हुन सक्छ ।’ पशुहरुबाट मानवमा कोरोना भाइरस फैलिनुको सम्बन्ध असामान्य गर्मीका कारण भएको वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

भारतको स्वास्थ्य प्रणाली र युवा आवादीका कारण यो रोग कयौं महिनासम्म बिनापहिचान फैलिरहेको चिनियाँ वैज्ञानिकहरुले दाबी गरेका छन् । चीनमा कोरोना भाइरस युरोपको मार्ग भएर आएको पनि उनीहरुले बताएका छन् । त्यसैले उहानको महामारी यसको एक हिस्सा मात्र हो । चीनको उहानमा सन् २०१९ डिसेम्बरमा कोरोना भाइरसको संक्रमण बाहिर आएको थियो ।

यसअघि चीन तथा केही पश्चिमी बोधकर्ताहरुले इटाली र अमेरिकाबाट कोरोना भाइरस फैलिएको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

चिनियाँ वैज्ञानिकहरुको यस दाबीलाई बेलायतका ग्लास्गो युनिभर्सिटीका एक विशेषज्ञ डेविड रोबर्टसनले दोषपूर्ण भएको बताएका छन् । यस सोधले कोरोना भाइरसका बारेमा ज्ञानलाई वृद्धि नगर्ने उनले बताए ।

यसबीच विश्व स्वास्थ्य संगठन कोरोना भाइरसको स्रोत पत्ता लगाउने प्रयास गरिरहेको छ । डब्ल्यूएचओको हालसम्मको खोजले कोरोना भाइरस चीनमा उत्पन्न भएको भन्ने छ । डब्ल्यूएचओले आफ्नो एक अनुसन्धान टोली चीनमा पठाएको छ ।