आणविक बैज्ञानिकको हत्याको बदला लिने अठोट


तेहरान,(एजेन्सी)

राजधानी तेहरान नजिक हत्या भएका इरानको सबैभन्दा वरिष्ठ आणविक बैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्याको वदला कुनै पनि हालतमा लिएरै छोड्ने प्रतिवद्धता शनिवार इरान सरकारले जनाएको छ । इरानको रक्षा मन्त्रालयले शुक्रवार दामाभान्द काउन्टिको अवसार्दमा आक्रमणमा परेका उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको पुष्टि गरेको थियो ।

इरानका सर्वोच्च धार्मिक नेता अयातोल्लाह अलि खामेनीका सैनिक सल्लाहकार होस्सेन देहघानले हत्यारा तथा षडयन्त्रकारीहरुमाथि आँधि तुफान जसरी आक्रमण गरिने प्रतिवद्धता जाहेर गरेका छन् ।

पश्चिमी मुलुकका गुप्तचर निकायहरुले फाख्रिजादेहको इरानको गोप्य आणविक हतियार कार्यक्रममा हात रहेको आशंका गदै आएका छन् । अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुले उनलाई ‘ इरानी बमका पिता ’ भन्ने गरेका छन् ।

इरानले प्रशोधित युरेनियमको उत्पादन बढाउँदै गरेको विषयमा पछिल्लो समयमा विश्वले चिन्ता प्रकट गरिहेकाबेला यो हत्याकाण्ड भएको हो । इरानको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा मन्त्रालयको अनुसन्धान तथा विकास संस्थाको प्रमुख फाख्रिजादेह रहेको सवारी साधनमा शसस्त्र आतंककारी सुमहले एक्कासी आक्रमण गरेको जनाइएको छ ।

यसअघि इरानका विदेशमन्त्री मोहमद जाभाद जारिफले यस घटनालाई राष्ट्रिय आतंकको संज्ञा दिँदै यसको घोर भत्सर्ना गरेका छन् । जारिफले यस हत्याकाण्ड पछाडि इजरायलको हात हुनुपर्ने आरोप लगाएका छन् । तर इजरायलले उनको आरोपबारे अझै सम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सन् २०१८ को अप्रिलमा इरानको विवादास्पद आणविक कार्यक्रमबारे सार्वजनिक रुपमा बोल्ने क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यहि वरिष्ठ इरानी बैज्ञानिकको नाम उल्लेख गरेका थिए । इरानी सेनाको इस्लामिक रिभुलुश्नरी गार्ड कोप्र्सले फाख्रिजादेहको हत्या पछाडिको उद्देश्य इरानलाई अत्याधुनिक आणविक शक्ति सम्पन्न हुनबाट रोक्नु रहेको पनि दावी गरेको छ ।