भारत अधिनस्थ काश्मिरमा चुनाव शुरु


श्रीनगर,(एजेन्सी)

भारत अधिनस्थ काश्मिरमा शनिवार कडा सुरक्षा प्रवन्धबिच पहिलो चरणको स्थानिय जन निर्वाचन प्रारम्भ भएको छ । दुई सय असी सदस्यीय जिल्ला विकास परिषद्हरुका लागि आठ चरणमा सम्पन्न हुने यस चुनावका लागि विवादास्पद क्षेत्रको बिस वटा जिल्लाका झण्डै साठी लाख मतदाता रहेका छन् ।

यो निर्वाचन १९ डिसेम्वरमा सकिन्छ । शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न गराउन यस अघि नै उच्च सैनिक सुरक्षाको व्यवस्था गरिएको सो क्षेत्रमा दसौं हजार थप सुरक्षाकर्मि तैनाथ गरिएको छ । २ हजार १ सय ४६ वटा मतदान केन्द्र मध्ये अधिकांश मतदान केन्द्र जाने बाटाहरुमा सरकारी फौजले स्टिलका अवरोध ठड्याउनुका साथै तारको वार लगाएका छन् ।

प्रमुख निर्वाचन आयुक्त के. के. शर्माले स्थानिय वासिन्दालाई ढुक्क भएर मतदान गरी लोकतान्त्रिक अभ्यासमा सामेल हुन आग्रह गरेका छन् । परिषदका लागि निर्वाचित सदस्यहरुमा कुनै विधाकिय अधिकार भने हुने छैन । बरु तिनीहरु सो क्षेत्रको आर्थिक विकास र जनहितका कार्यहरुका लागि मात्र जिम्मेवार हुनेछन् ।

भारत सरकारले विकास प्रवर्धन र जनसरकारका विषयहरुलाई सम्बोधन गर्नका लागि यो निर्वाचन तल्लो स्तदेखिको अभ्यासका लागि महत्वपूर्ण सावित हुने जनाएको छ । केन्द्रीय सरकारले स्वायत्तता फिर्ता लिएपछिको काशिमरको यो पहिलो निर्वाचन हो ।