सिक्कीमेली छुकिलाले घाइते दिलमा आरा चलाइस्यो


नेपाली संगीतको क्षेत्रमा कवाली गीत खासै सुनिँदैन। यसपटक भने कवाली शैलीको रोमाञ्चक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

मैसाबले घाइते दिलमा आरा चलाइस्यो बोलको कवाली प्लेवरको गीत म्युजिक भिडियोसहित ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। विशेष गरी राजखानदानमा प्रयोग हुने उच्च आदरार्थी शव्दहरुले भरिपूर्ण गीत सुन्दा जति आनन्द आउँछ, त्यति नै मज्जा यसको आकर्षक म्युजिक भिडियोले दिन्छ।

लोकप्रिय कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा तयार भएको यसको म्युजिक भिडियो दरबारिया शैलीमा निर्माण गरिएको छ। बिहेका लागि राजकुमारीलाई हेर्न पुगेका दुई राजकुमारको प्रवेशपछि दरबारमा चलेको कवाली प्रस्तुत गरिएको म्युजिक भिडियोमा चक्लेटी हिरो पल शाह दोहोरो भूमिकामा छन्। पलले राजकुमार दाजुभाइको भँमिकामा अभिनय र नृत्य गरेका छन्।

त्यसै गरी, राजकुमारीको भूमिकामा सिक्किमेली सुन्दरी छुकिला शेर्पालाई प्रस्तुत गरिएको छ। केही म्युजिक भिडियोमा अभिनय गरीसकेकी छुकिला नेपाली रजतपटको ढोका ढकढक्याउने क्रममा यो गीतको म्युजिक भिडियोमा देखिएकी छन्। भिडियोमा उनको प्रस्तुति हेर्दा उनले नेपाली रजतपटक तताउन समय नलाग्ने प्रस्ट हुन्छ।

भिडियोमा कविराज गहतराजले होटल याक एन्ड यतिलाई आलिसान दरबारका रूपमा प्रस्तुत गरेका छन् भने आउटडोर इनडोरमा सयभन्दा बढी कोरस कलाकारलाई लोभलाग्दो ढंगले प्रस्तुत गरेका छन्। कोरियोग्राफीे कलामार्फत हरेकजसो फिल्मी गीतलाई उत्कृष्ट बनाउँदै आएका कविराज गहतराजको यो भिडियो पनि कुनै फिल्मी गीतभन्दा कम लाग्दैन।

झकिझकाउ र चमकदमक प्रकाश व्यवस्थापनका साथ सुदीप बरालको छायांकन कलाले भिडियोलाई उत्कृष्ट बनाउन सघाएको छ भने आलिया गिरीको पहिरन डिजाइनले कविराजको दरबारभित्रको सांगीतिक कार्यक्रमको परिकल्पनालाई सार्थक बनाउन सघाएको छ।

गीतमा सत्यराज र स्वरूपराज आचार्यको स्वर र संगीत, अमृत खतिवडा (भाञ्जा भाइ) तथा सत्यराज र स्वरूपराज आचार्यको शब्द रचना एवं संगीत संयोजन उदयराज पौडेलको रहेको छ। कैलाश राई (सिक्किम) द्वारा निर्मित भिडियोमा कोरियोग्राफी दीपकराज सुनार र सम्पादन अर्जुन जिसीको छ। कविराज गहतराजले गीतअनुसार लोकेसन र ड्रेस छनोट गरेको जनाउँदै यो भिडियो आप्ना लागि चुनौती भएको बताए।

‘एकातिर जोनी जिपहरुको सटमा पलको डबल रोल गर्नु च्यालेन्ज थियो। अर्कोतिर सिक्किमबाट आएको नयँँ अनुहारलाई प्रोफेसनलरूपमा प्रेजेन्ट गर्नु अर्को च्यालेन्ज थियो। निर्माताले केही कम्प्रोमाइज नगरेकाले मेरो करियरको सबैभन्दा बेस्ट भिडियो बनेको छु।’ –कविराज भन्छन्।

म्युजिक भिडियोका छायांकार सुदीप बरालले गीतअनुसार निर्देशकको थिमसँग मिल्ने गरी भिडियो उतारिएको बताए। निर्माता कैलाश राईले सिक्किमको माया नेपालसँग जोड्ने सिलसिलामा यो गीत तथा यसको म्युजिक भिडियो तयार पारिएको र यस कार्यलाई निरन्तरता दिइने बताए।