बेचिएर उद्धार भएकी चेलीको कथा


बेचिएर उद्धारपछि घर फर्किएकी चेलीको कथामा आधारित नयाँ लोकदोहोरी गीत आप्नोपन म्युजिक भिडियोसहित रिलिज भएको छ। युवराज आचार्य र सुनीता बुढा क्षेत्रीको स्वर रहेको गीतमा नारायण कँडेलको शब्द तथा डा. शिव सुवेदीको संगीत रहेको छ।

विभिन्न प्रलोभन र छलकपटमा परी चेलिबेटी बेच–विखन अहिले पनि उस्तै छ। यस्तै एक चेली प्रलोभनमा परी प्रेमीसमेत छोडेर बेचिन पुग्छे। केही समयपछि उद्धारकर्मीहरुले उद्धार गरी नेपाल फिर्ता ल्याउँछन् र प्रेमीले उसलाई सहयोग गर्छ। गीतको म्युजिक भिडियोमा यही यथार्थ कथा बुनिएको छ।

विनोद भण्डारीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत र रोशनी कार्कीले अभिनय गरेका छन्। भिडियो करण चैसिरले छायांकन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन्। भिडियोमा रविन शर्माको न्यारेसन सुन्न सकिन्छ।