रुसी कोरोना खोप ९५ प्रतिशत प्रभावकारी, मूल्य करिब १० डलर


मस्को, (एजेन्सी)

कोरोना भाइरसविरुद्ध रुसले विकसित गरेको कोविड १९ खोप स्पुतनिक भीको पहिलो डोज परीक्षण गरेको ४२ दिनपछि ९५ प्रतिशतभन्दा बढी प्रभावकारी प्रमाणित भएको दाबी गरिएको छ ।

रुसको राजधानी मस्कोस्थित द गेमेलिया नेसनल सेन्टर अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजीले उक्त दाबी गरेको हो । खोपको पहिलो डोज २८ दिनपछि स्पुतनिक भी क्लिनिकल परीक्षण डाटामा ९१ दशमलव ४ प्रतिशत प्रभावकारिता प्रमाणित भएको थियो । त्यसपछि ४२ दिनमा खोपको प्रभाव बढेर ९५ प्रतिशतभन्दा बढी देखिएको गेमेलियाले जनाएको छ ।

रुसी प्रत्यक्ष निवेश कोष (आरडीआईएफ)का अनुसार खोपको मूल्य आगामी हप्ता सार्वजनिक गरिनेछ । सामूहिक अर्थात् ठूलो परिमाणमा परीक्षणअघि नै स्पुतनिकलाई आधिकारिकरुपमा पञ्जीकृत गरिएको यियो । रुस अगस्टमा कोविड १९ खोपको नियमक स्वीकृति दिने पहिलो देश बन्यो ।

रुसले अगस्टमा स्पुतनिक भीलाई मान्यता प्रदान ग¥यो । यो खोपको डोज रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीले पनि लिएकी थिइन् । अन्य खोपको तुलनामा स्पुतनिक खोपको मूल्य कम हुने रुसले घोषणा गरेको छ । रुसले अर्को वर्षसम्ममा आफ्नो र अन्य देशका लागि १ खर्ब डोज उत्पादनको लक्ष्य राखेको छ ।

यो खोपलाई गेमेलिया नेसनल रिसर्च सेन्टर र रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडीआईएफ)ले संयुक्त रुपमा विकसित गरेको हो ।

मंगलबार यो खोपको अनुमानित मूल्य सार्वजनिक भएको छ । रुसका नागरिकलाई यो खोप निःशुल्क उपलब्ध हुने बताइएको छ । विश्वका अन्य देशका लागि यसको मूल्य करिब १० डलर पर्ने बताइएको छ । विदेशमा खोपको उत्पाडन र प्रवद्र्धनको काम हेरिरहेको आरडीआईएफका प्रमुख किरिल दिमित्रियवले स्पुतनिक भीको मूल्य अन्य खोपको तुलनामा निकै कम हुने बताए ।

आरडीआईएफ र त्यसका पार्टनर खोपको सुखा डोज तयार गरिरहेका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियस तपमानमा पनि सुरक्षित रहने बताइएको छ । यसको तुलनामा फाइजरले विकसित गरेको खोपलाई माइनस ७० डिग्री र मोडेर्नाको खोपलाई सामान्य फ्रिजको तापक्रममा सुरक्षित गर्नुपर्ने बताइएको छ । यसले स्पुतनिकलाई अन्तर्राष्ट्रिय बजारमा वितरणका लागि धेरै सहज हुनेछ । यसमा गर्मी हुने तथा दुर्गम इलाकामा पनि सुरक्षित पु¥याउन सकिनेछ ।

यो खोपको पहिलो डेलिभरी अर्को वर्षको जनवरीमा हुनेछ । अन्य जुन देशले यसका लागि आग्रह गरेका छन्, ती देशमा पहिलो खेप सन् २०२१ मार्चको शुरुआतमा उपलब्ध हुनेछ ।

खोपको तेस्रो चरणको परीक्षणमा ४० हजार स्वयंसेवकले भाग लिएका छन् । २२ हजार स्वयंसेवकलाई पहिलो डोज दिइएको थियो । १९ हजारभन्दा धेरैलाई पहिलो र दोस्रो डोज दिइएको थियो । उनीहरुमा अहिलेसम्म खतराको कुनै लक्षण देखिएको छैन । स्वयंसेवकहरुमाथि निगरानी अहिले पनि जारी छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाको खोप कोभिसिल्ड ७० प्रतिशत प्रभावकारी रहेको बताइएको छ । तर यो ९० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।

अमेरिकी औषधी कम्पनी फाइजर र मोडेर्नाले पनि आफ्नो खोप ९० प्रतिशतभन्दा धेरै प्रभावकारी भएको दाबी गरेको थियो ।

मूल्यको तुलना
फाइजरका अनुसार उसको खोपको एक डोजको मूल्य साढे १९ डलर हुनेछ ।
त्यसैगरी मोडेर्नाको मूल्य २५ देखि ३७ डलर हुनेछ र यसको दुई डोजको मूल्य ३९ र ५० देखि ७४ डलर हुने बताइएको छ ।
सबैभन्दा सस्तो भनिएको कोविसिल्ड एक डोजको मूल्य ७ देखि ८ डलर पर्न आउने बताइएको छ ।