जन्मदिनमै गिनिज वल्र्ड रिकर्ड


बेइजिङ, (एजेन्सी)

एकजना चिनियाँ किशोरले आफ्नो चौधौं जन्मदिन गिनिज वल्र्ड रिकर्डमा नाम लेखाउँदै मनाएका छन् । सिचुआन प्रान्तको लेसान निवासी रेन केयुले विश्वकै सबैभन्दा अग्लो किशोर बनेर सो उपाधि जितेका हुन् । गिनिजको आवश्यकताअनुसार एकै दिन जमिनमा पल्टेर र उभिएर उनले तीनपटक आफ्नो शारीरिक उचाइ नाप्न लगाएका थिए ।

उनको आधिकारिक उचाइ ७ फिट ३ दशमलव शून्य २ इन्च रहेको छ । केयुका परिवारमा सानो छँदा थुप्रै डाक्टरलाई उनको अस्वाभाविक शारीरिक वृद्धिबारे उपचारका लागि परीक्षण गराएको बताउँछन् । तिनीहरुले सायद उनको यो उचाइ पछाडि आनुवंशिक कारण हुनुपर्ने अनुमान गर्दछन् ।

उनका आमा र हजुरबुबा दुवैको उचाइ ६ फिटभन्दा बढी रहेको छ । उनले आफ्नो उचाइ र वजनले बास्केटबलजस्ता खेलमा ठूलो सहयोग गर्ने गरेको भए पनि आफूलाई पुस्तक पढ्न बढी मनपर्ने बताउँछन् ।