गन्तव्य र मन्तव्य नमिलेपछि


डा. देवीप्रसाद आचार्य

विकासको आधारशिला सुशासन, भ्रष्टाचारको अन्त्यजस्ता कुराहरुमा सरकारको ध्यान गएको देखिँदैन । राजनीतिमा सिद्धान्त, निष्ठा र गन्तव्य प्रस्ट नभएपछि नेताहरुका मन्तव्यहरुमा पनि तालमेल हुन सकेको छैन । विकास निमार्णमा कुइरोको कागजस्तै देखिएको राजनीतिक कर्मले मुलुक झन् पछि झन् गरिबी, अभाव र अव्यवस्थामा धकेलिइरहेको अवस्था छ ।

छेपाराले शत्रुहरुबाट बच्नको लागि रङ्ग फेरेझैँ समय, परिस्थिति र जनताको चेतनाको स्तरका आधारमा कुराहरु बदल्दै आइरहने राजनीतिक दलहरुले देश विकासको मार्गचित्र नै तय गर्न सकिरहेका छैनन् । हरेक दलभित्र अन्तरदलीय खिचातानी र मनमुनाव झाँगिएको देखिन्छ ।

देशलाई आर्थिक समुन्नतिको दिशामा अगाडि बढाउने दृष्टिकोण भएको राजनेताको अभावमा देशले विकासको गति लिन सकेको छैन । प्रजातन्त्र पुनस्र्थापनापछाडिको इतिहासलाई मात्र हेर्ने हो भने पनि देशले भिन्न अनुहारका प्रधानमन्त्री, मन्त्री एवं विभागीय प्रमुखहरु पायो । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैँ अनुहार मात्र फरक । कार्यशैली र क्षमता उस्तै ।

छल, कपट र बेइमान उस्तै । त्यसैले देशको कुनै पनि क्षेत्रमा सुधार हुन सकेन । समाजका समस्याहरु ज्यूँका त्यूँ रहे । बरु समस्याहरु अझै बढेर गएको अवस्था छ । जति राजनीतिक व्यवस्था बदलिए तापनि राज्यको कार्यशैलीमा घुम्दैफिर्दै रुम्जाटार भन्ने लोकोक्ति चरितार्थ भएको छ ।

विकास र राजनीति एक–अर्काका परिपूरक हुन् । राजनीतिमा भ्रष्टाचार, अपराधीकरण, स्वार्थ, कमाउधन्दा, गैरजिम्मेवारीपना, आफन्तवाद, गुटबन्दी, कमिसनतन्त्र, छलकपट भएपछि कार्यगत गन्तव्य अलमलमा पर्दछ । मूल राजनीतिक गतिविधि र बेइमानीलाई नजिकैबाट नियालिरहेको प्रशासनतन्त्र र स्थानीय तहहरु पनि ‘जसो–जसो बाहुन बाजे उसै–उसै स्वाहा’ भनेझैँ सिको गरिरहेको अवस्था छ । मुलुक मियोविनाको दाइँजस्तो भएको छ । न त राजनीतिक दलहरुमा सैद्धान्तिक कार्यदिशा छ, न त विकासको वैज्ञानिक मार्गचित्र । यसरी हेर्दा देशको विकास र नागरिकको आवस्था सुधार हुने संकेत पटक्कै देखिँदैन ।

अहिले नेपाल कम्युनिस्ट पार्टीको जनताबाट बहुमतले निर्वाचित सरकारले पनि काम गर्न नसकेपछि देशमा रहेका लगभग ७० हजार घर–परिवारका अगाडि गम्भीर प्रश्न खडा भएको छ । वास्तविकता अध्ययन गर्ने हो भने राजनीतिक संस्कार बिगारेर देशलाई पछाडि पार्नमा दलका केही औंलामा गन्न सकिने नेताहरुको भूमिका नै प्रमुख रहेको देखिन्छ । देशका ठूला भनिएका राजनीतिक दलहरु नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारलाई भोट दिएर मनमा चोट सहनुबाहेक मतदाताहरुसँग विकल्प छैन । सरकारबाट नागरिकहरुको जीवनयापनमा अनुभूति हुने र देखिने कुनै पनि विकासका काम हुन सकेका छैनन् । जनता निराश छन् ।

दलका शीर्ष भनिने नेताहरुको अकर्मण्यता र यिनीहरुका पछाडि लाग्ने अन्धभक्त कार्यकर्ताहरुका कारण यो मुलुकको भाग्य र भविष्यमा ठूलो प्रहार भइरहेको राजनीतिक विश्लेषकहरुको ठहर छ । सत्तरीको दशकमा हिँडिरहेका रोगी, भिजनलेस, गुट र उपगुटका गन्तव्य नमिल्ने डग्म्याटिक नेतागणहरुका कारण देश कमजोर बन्दै गएको जानकारहरु बताउँछन् । एक दर्जन नेताहरुको स्वार्थको भुमरीमा सिङ्गो मुलुक बन्धक भइरहेको छ । न त यिनीहरुमा शिक्षाको क्षेत्रमा सुधार गर्ने वैज्ञानिक अवधारणा छ, न त स्वास्थ्य सेवाको । न त कृषिको आधुनिकीकरणको कुनै भिजन नै छ । न पशुपन्छी पालनको, न त प्रशासनलाई अनुशासित एवं सेवामुखी बनाउने रणनीति तथा कार्य योजना छ । न त गाउँ विकासको । अनि कसरी देशले विकासको गति लिन सक्छ ?

मुलुकमा राजनीतिक व्यवस्था बदलिए तापनि हाम्रा नेतागणहरुको चिन्तन र प्रवृत्ति बदलिन सकेन । राजनीतिक नेतृत्वले लोकतन्त्रलाई देश र जनताको हितमा होइन कि आपूm आप्mनो परिवार, नातागोता र आप्mनो समूहको पक्षपोषणमा उपयोग गरिरहेको छ । नागरिकहरु राज्यको कार्यशैलीबाट वाक्कदिक्क भइसकेको अवस्था छ । गणतन्त्र आएको पनि १५ वर्ष बितिसक्यो । जनआन्दोलन २०६२÷०६३ पछाडिको समयमा नागरिकले नयाँ राजनीतिक संरचना प्राप्त गरे । एउटा संविधानको किताब, ७ वटा प्रान्तीय सरकार, ७ सय ५३ वटा स्थानीय सरकारबाहेक के पाए त ? कुन क्षेत्रमा सुधार भयो ? लोकतन्त्र ‘बाँदरको हातमा नरिवल’ भनेझैँ भएको छ ।

हो, नेपालको संविधान २०७२ मा नागरिकका अधिकारहरुलाई सुनिश्चित गरिएको छ । महिला, जनजाति, दलित समुदायलगायतका अधिकारहरुलाई दस्तावेजीकरण गरिएको छ । यसै गरी विकेन्द्रीकरणको सिद्घान्तलाई सिंहदरबारबाट निकालेर गाउँतहसम्म पु¥याइएको छ । तथापि राजनीतिक प्रणालीको पुनर्संरचना र अधिकारले मात्र जनताको भोको पेट भरिँदैन । अभावको अन्त्य हुन सक्दैन । शिक्षामा पहुँच, स्वास्थ्य सेवाको सुविधा, रोजगारीको उपलब्धता हुन सक्दैन । यसरी हेर्दा सर्वसाधारणका लागि लोकतन्त्र वा गणतन्त्र जे भनिए तापनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको छ । राज्यको गन्तव्य विकास र समृद्धि नभएपछि नागरिकहरुमा राज्यबाट अपहेलित भएको अनुभूति भइरहेको छ ।

अहिले नेपाल कम्युनिस्ट दलभित्र पद, पैसा र सुविधाको लडाइँ चलिरहेको छ । समय–समयमा सरकार ढल्ने, प्रधानमन्त्री फेरिने वा अमुक व्यक्ति प्रधानमन्त्रीको लाइनमा जस्ता समाचारहरु आउने गर्दछन् । अब जुन अनुहारको प्रधानमन्त्री भए पनि उस्तै भिजनलेस बबुरो नै हुने नागरिक बुझाइ छ । अझै प्रधानमन्त्री भइसकेका तर देश र जनताको लागि सिन्को भाँच्न नसकेकाहरुको नाम आउने गर्दछ । नागरिकहरुले अहिले कुनै राजनीतिक दलको नेतृत्व वा व्यक्ति विशेषलाई प्रधानमन्त्री वा मन्त्रीको रुपमा हेर्नुभन्दा पनि देशको विकास गर्न सक्ने नेतृत्व खोजेका छन् । पार्टी पंक्तिमा त्यस्तो व्यक्ति देखिँदैन । सचेत युवाहरुले अबको नेतृत्व युवाहरुको हातमा आउनुपर्दछ भनेर आक्रोश व्यक्त गरिरहेका छन् । मुलुकले सुशासन, आर्थिक समृद्घि, रोजगारीको अवसर, महङ्गी नियन्त्रण र जनताको जीवनयापन बदल्न सक्ने राजनीतिक नायकको प्रतीक्षा गरिरहेको छ ।

अहिले समाज एक्काइसौं शताब्दीको दोस्रो दशकको अन्तिममा छ । यो शताब्दी विज्ञान र प्रविधिको विकास एवं औद्योगिकीकरणको युग हो । विश्व जगत्का धेरै देशहरुले देशमा आवश्यक विकास निर्माणका कामहरु सम्पन्न गरी नयाँ ग्रहहरुमा बसोबासको लागि अनुसन्धान गरिरहेका छन् । चन्द्रमा र मंगल ग्रहहरुमा बस्ती बसाउने तरखरमा लागेका छन् । यन्त्रमानव बनाएर उद्योग तथा उत्पादन क्षेत्रहरुमा प्रयोग गरेका छन् । तर हामी भने गाँस, बास र कपासको लागि लडिरहेका छौं । गरिबी, अभाव, अशिक्षा र पछौटेपनबाट ग्रस्त छौं । राजनीतिक लडाइँ र मनमुटावमा कटाक्ष गर्दै छौं । मुलुकमा तस्करी, महङ्गी, कालोबजारी, बेरोजगारी, अनियमितता व्याप्त छ । २५ प्रतिशतभन्दा बढी नागरिकहरु गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । एक तिहाइ जनसंख्या शिक्षाको अवसरबाट वञ्चित छन् । शिक्षा र स्वास्थ्य क्षेत्र व्यापार भएको छ । युवाहरु रोजगारीको लागि अन्तर्राष्ट्रिय बजारमा काम गर्न बाध्य छन् । खाद्यान्नमा परनिर्भरता बढ्दै छ । तर देशको ढुकटी र प्रशासनतन्त्र सञ्चालन गर्ने छडी हातमा लिएको सरकार पदको बाँडफाँड र झगडामा नै लिप्त छ । देशको लागि यो भन्दा ठूलो विडम्बना के हुन सक्छ ?

शैक्षिक चेतनाको अभाव र नागरिक शिक्षाको आलोकमा पछाडि परेको नेपाली समाजलाई गन्तव्य र मन्तव्य नमिल्ने समूहहरुको मिलन गरी अङ्कगणितको आधारमा सरकार बनाउन सफल अहिलेको नेपाल कम्युनिस्ट पार्टीको किचलोले जगत्लाई हँसाएको छ । यिनका शीर्ष भनिने नेताहरुका आवासमा हुने दलगत षड्यन्त्रका योजनाहरु र पदको बाँडफाँडको लागि गरिने हर्कतको लागि पनि सरकारी साधन एवं सुविधाको ठूलो राशि खर्च हुने गरेको छ । सधैँ विवाद, घोचपेच र रस्साकस्सीको गाईजात्राबाहेक नेपाली जनताले विकास, सुशासन र सकारात्मक कामका समाचारहरु न सुन्न पाएका छन्, न त पढ्न नै ।

अब नागरिकहरुको चाहना देशको विकास हो । नेतृत्वले यो वा त्यो बहानामा मुलुकलाई अल्झाउने काम बन्द गरिनुपर्दछ । देशलाई कमजोर बनाउने, जनतालाई गरिब बनाउने र आफ्नो दुनो सोझ्याउने कामलाई नागरिकहरुले कतिसम्म टुलुटुलु हेरर बस्ने ? राज्यको कार्यशैलीबाट जनता खुशी छैनन् । तसर्थ जनतामा रहेको निराशा आक्रोशमा बदलिनुअगाडि राज्यले कार्यशैली सुधारोस् । छलकपट गरी जनताको करमा रजाइँ गर्ने दुष्ट्याइँ नगरोस् । व्यावहारिक कार्ययोजनाका साथ विकास निर्माणमा भीष्म प्रतिज्ञाका साथ अर्जुनदृष्टि दिएर काम गरोस् ।