गृहनगरमा अर्थमन्त्रीलाई कालोझन्डा


यमलाल भुसाल, बुटवल

अर्थमन्त्री विष्णु पौडेलले तिनाउ, दानव नदीको किनारमा बन्ने कोरिडोर यस क्षेत्रको आर्थिक, सामाजिक हिसाबले महŒवपूर्ण आयोजना हुने बताउनुभयो । अर्थमन्त्री पौडेल बुधबार रूपन्देहीका आधादर्जन बढी कार्यक्रममा सहभागी हुनुभएको थियो ।
तिनाउ, दानव कोरिडोरको शिलान्यास गर्दै उहाँले तिनाउ, दानव कोरिडोरको जनस्तर र सञ्चारकर्मीबाट बढी निगरानी गर्न जरुरी रहेको औंल्याउनुभयो ।

अर्थमन्त्री पौडेलले रुपन्देही साँघुरिँदै गएको उल्लेख गर्दै व्यवस्थित शहरीकरणको योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । यस क्षेत्रलाई महानगरको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सुनौलीदेखि बुटवल, तिनाउ नदी आसपासका पालिका र परासीसम्मको सीमानालाई महानगरको अवधारणामा अगाडि बढाउन सकिने उहाँको भनाइ रहेको थियो ।

महानगरका लागि गुरुयोजना बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारका तर्फबाट आफूले सहयोग पु¥याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । तिलोत्तमा नगरपालिकामा बन्ने मेडिकल कलेजको डीपीआरको तयारी भइरहेको बताउँदै २ सय बिघा जमिनमा बन्ने मेडिकल कलेज लागतको हिसाबले महŒवकांक्षी रहेको उहाँको भनाइ थियो ।

उहाँले तिलोत्तमाका सबै वडालाई समेटेर तिलोत्तमा चक्रपथ बनाइने र त्यसका लागि चनाखो भएर लाग्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । बुधबार नै सैनामैना नगरपालिका वडा नं १ रानिबगियामा रहेको पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन र वडा नं ४ मा रहेको पर्रोहा माध्यमिक विद्यालयको १६ कोठेको भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि आवश्वयक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुटवलबाट चन्द्रौटा हुँदै धानखोलासम्मको सडकका निम्ति नेपाल सरकारले आवश्यक बजेटको प्रबन्ध गर्दै यो सडकलाई पनि एउटा एक्सप्रेस हाइवेका रुपमा विकास गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो ।

त्यसै गरी रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित गिर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयको बालमैत्री नमुना मन्टेश्वरी भवनको उद्घाटन र छात्रावास भवन निर्माण शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले विद्यालयको भौतिक पूर्वाधारदेखि हरेक विकासका लागि बजेटको व्यवस्था गर्ने दायित्व जनप्रतिनिधिको भएको बताउनुभयो । विकासका लागि बजेट माग गर्नु जनताको अधिकार भएको मन्त्री पौडेलको भनाइ थियो ।

अर्थमन्त्रीविरुद्ध कालोझन्डा
अर्थमन्त्री विष्णु पौडेललाई बुधबार बिहानै गृहनगर बुटवलमा कालो झण्डा देखाइएको छ । दोस्रोपटक अर्थमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आउनुभएका पौडेललाई नेपाली कांग्रेसको भ्रातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले बुटवलमा कालोझण्डा देखाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिवसमेत रहनुभएका पौडेलले लुम्बिनी प्रदेशको राजधानीसँग अर्थमन्त्री पदसँग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगन्जरोड)मा कालोझण्डा देखाएका हुन् ।

रुपन्देहीको सैनामैनाका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदै गर्नुभएका पौडेललाई कांग्रेस कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै पौडेलविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदेशको राजधानी सार्न गरिएको षडयन्त्रका विरुद्ध पौडेलले देखाएको मौनताको विरोधमा कालो भण्डा प्रदर्शन गरिएको नेपाली कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डेले बताउनुभयो ।

नेकपा रुपन्देहीको आपत्ति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई नेपाली कांग्रेस रूपन्देहीले कालोझण्डा देखाएको भन्दै नेकपा रूपन्देहीले गम्भीर आपत्ति प्रकट गरेको छ । नेकपा रुपन्देहीले बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पौडेललाई कालोझण्डा देखाएकोमा आपत्ति जनाएको हो ।

नेकपा रुपन्देहीका प्रवक्ता मोहन चापागाईंद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्णरूपमा प्रदर्शन गर्न पाउने अधिकार प्राप्ति र संरक्षणको लडाइँ सँगसँंगै लडेको स्मरण गराउँदै जिल्लाका विकास आयोजनाहरूको उद्घाटन, शिलान्यास र अनुगमनको सिलसिलामा रहेका अर्थमन्त्रीको विरोध गरेर कांगे्रसले आफूलाई यी सबै विकास प्रयासहरूको विपक्षमा खडा गर्न चाहेको त होइन भनेर गम्भीर प्रश्न खडा भएको उल्लेख छ । यस सन्दर्भमा नेपाली कांग्रेसलाई आफ्नो धारणा स्पष्ट गर्न नेकपा रुपन्देहीले आग्रह गरेको छ ।