काठमाडौं, (नेस)
पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्बन्ध बिग्रँदै गएको छ । पार्टीभित्र आन्तरिक विवाद आउँदा दुवै अध्यक्षबीच छलफल हुने गरे पनि यसपटक झन्डै तीन सातादेखि संवाद हुन सकेको छैन ।
सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीति प्रस्तावसँगै अध्यक्षद्वयको विश्वासमा संकट पैदा भएको हो । पार्टी एकीकरणपछि सांगठनिक र सरकार गठनमा समन्वय गरेर अगाडि बढेका अध्यक्षद्वयबीच पार्टी एकीकरणपछि अहिले निकै ठूलो संकट देखापरेको छ । प्रचण्डले पेस गरेको लिखित राजनीतिक प्रतिवेदनको अध्यक्ष ओलीले हाल जवाफ तयार गरिरहँदा दुवै पक्ष आक्रमकरुपमा आ–आफ्नो रणनीति बनाउन लागिपरेका छन् ।
पार्टीभित्र संकट गरिँदै गएपछि अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन । पार्टीभित्र देखिएको संकट समाधान गर्न अध्यक्षद्वयबीच संवादहीनताको अवस्था रहेको छ । सचिवालयम पेस भएको राजनीतिक प्रस्ताव फिर्ता नलिने अडान प्रचण्डले लिएपछि १९ पृष्ठ लामो प्रतिवेदनको जवाफ ओलीले तयारी गरिरहनुभएको छ । सचिवालय बैठक मंसिर १३ गतेका लागि बोलाइएको छ । मंसिर ३ गतेयता कुनै पनि संवाद हुन सकेको छैन ।
पार्टीभित्रको विवाद चर्किंदै जाँदा प्रचण्ड संकटमा पर्दै गएको बताइएको छ । प्रचण्डनिकट एक स्थायी समिति सदस्य भन्छन्– ‘प्रचण्डले पार्टीभित्र हुने गरेको भन्दै गएका विषयलाई लिखितरुपमा स्पष्टसँग ल्याउनुभएको छ तर पूर्वएमालेका साथीहरु अन्तिम समयसम्म रहन्छन् कि रहँदैनन् भन्ने मुख्य विषय हो ।’
प्रचण्डको राजनीतिक प्रतिवेदन प्रदेश कमिटीमा बाँडिएकोप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउनुले पनि प्रचण्डलाई साथ दिँदै आएका वरिष्ठ नेता नेपाल पक्षले साथ दिनेमा आशंका उब्जिएको बताइएको छ ।
नेपालनिकट एक स्थायी कमिटी सदस्य भन्छन्– ‘पार्टीभित्र समस्या देखापरेको छ, प्रधानमन्त्री एवं अध्यक्ष ओलीको कार्यशैली गलत छ, त्यसलाई ओलीजीले सच्याउनुपर्छ, फुटकै अवस्थासम्म त जाने कल्पना गर्न सकिँदैन, देखिएका विवादलाई विधिअनुसार नै हल गर्नुपर्छ ।’
प्रचण्डको राजनीतिक प्रस्तावसँगै नेकपाको आगामी सचिवालय बैठकबाट नेकपा विवादले कुन मोड लिने भन्ने अनुमान लगाउन सकिन्छ । प्रचण्डले बहुमतीय ढंगले निर्णय गरेर अगाडि बढ्ने रणनीति लिए पनि संसदीय दलमा पुगेर प्रचण्ड आफ्नो कदमबाट पछि हट्नुपर्ने परिस्थिति सृजना हुने बताइएको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात गर्दै अघि बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताउनुभएको छ । बुधबार पर्सामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ठूलो बलिदानी र त्यागले निर्माण भई जनताको माझ स्थापित नेकपालाई कसैले चाहँदैमा कमजोर गर्न नसक्ने बताउनुभएको हो ।
प्रतिक्रिया