कक्षा–१२ को परीक्षामा किरियापुत्री


हेटौंडा, (नेस)

बुबाको किरियामा बसेका एक किरियापुत्रीले कक्षा–१२ को परीक्षा दिएका छन् । हेटौंडा उपमहानगरपालिका–१९ वस्तीपुरस्थित निर्मल माविमा छात्र उद्धव अर्याल परीक्षामा सहभागी भएका हुन् । कक्षा–१२ को परीक्षा मंगलबारदेखि शुरु भएको हो ।

कोरोना भाइरसका कारण वैशाख ८ का लागि तोकिएको परीक्षा मंगलबारदेखि शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौंडाका अनुसार मकवानपुरमा ६ हजार ३ सय ६७ परीक्षार्थीले परीक्षा दिएका छन् । कोरोनाका कारण यस वर्ष परीक्षा होम सेन्टरबाट गरिएको छ ।

अघिल्ला वर्षहरुमा मकवानपुरमा १२ परीक्षा केन्द्र रहने गरेका थिए भने यस वर्ष कोरोना महामारीलाई ध्यानमा राखी नजिकका विद्यालयलाई समेत परीक्षा केन्द्र बनानाएर ४१ वटा परीक्षा केन्द्र बनाइएका छन् ।

परीक्षा केन्द्रमा भौतिक दूरी कायम गरी बस्ने, मास्क, सेनिटाइजर, साबुनपानीले हातधुने जस्ता कोभिड सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षको व्यवस्थापन गरिएको राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाले जनाएको छ ।