भित्री मधेसमा संगठन विस्तार गर्दै ‘विप्लव’


राम धामी, डडेल्धुरा

सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा (माओवादी) को आधार इलाका मानिने डडेल्धुरा जिल्लाको भित्रीमधेस क्षेत्रमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले संगठन विस्तारमा तीव्रता दिएको छ । सो पार्टीले सातौं पुनर्गठन दिवसका अवसरमा भित्रिमधेस क्षेत्रको आलिताल गाउँपालिकामा सोमबार भव्य कार्यक्रम गरी संगठन विस्तार गरेको हो ।

‘आलिताल गाउँपालिकामा पार्टीको सातौं पुनर्गठन दिवस सम्पन्न गरेर युवा संगठन नेपालको संगठन विस्तार तथा सुदृढीकरण अभियान सुचारु गरेका छौं’, जिल्ला सेक्रेटरी टीका राना ‘विजय’ ले टेलिफोन सम्पर्कमा भने– ‘प्रतिबन्धित अवस्था भए पनि उत्साहजनक ढंगबाट पार्टीका गतिविधि सञ्चालन भइरहेका छन् ।’

पार्टीको भातृ संगठन युवा संगठन नेपालको संगठन सुदृढीकरण तथा विस्तारका क्रममा असमाजिक गतिविधि, आर्थिक अनियमितता र राज्यसत्ताको आडमा भइरहेका अवाञ्छनीय क्रियाकलापहरुको भण्डाफोर गरिने र गलत कार्यमा संलग्न व्यक्ति, निकाय र संस्थाविरुद्ध जनकारबाही गरिने ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी डडेल्धुरा संगठन समितिले जनाएको छ ।

राज्यबन्दीहरुको निःसर्त रिहाइ, पार्टीमाथि लगाइको प्रतिबन्ध फुकुवाका साथै राज्यसत्ताले गरेका गलत क्रियाकलापहरुको भण्डाफोर गर्दै क्रान्तिको निरन्तरताका लागि युवा संगठन नेपाल संगठन विस्तार तथा सुदृढीकरण अभियान थालनी गरिएको विप्लव माओवादी निकट अखिल क्रान्तीकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताउनुभयो । कोरोना महामारीको विपद्मा परेका आम नागरिकलाई तीनवटै तहका सरकारले उपेक्षा गरेकाले वर्तमान राज्यसत्ताविरुद्ध जनमत बढ्दै गएको उहाँले दाबी छ ।

‘विप्लव’ नेतृत्वको प्रतिबन्धित पार्टीले भित्रिमधेसका विभिन्न ग्रामीण क्षेत्रमा युवालाई संगठित गरिरहेको स्थानीय बताउँछन् । कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्केका युवाहरुलाई संगठित बनाउन सो पार्टीले युवा संगठन विस्तार गरिरहेको आलितालका बासिन्दाको भनाइ छ ।

महामारीका कारण रोजगारी गुमाएर गाउँमा रहेका युवाहरुलाई संगठित गरेर गाउँमा अशान्ति र आतंककारी क्रियाकलाप बढाउन सक्ने भएकाले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका गतिविधिहरु नियन्त्रण गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताउनुभयो ।

भित्रिमधेस क्षेत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सशस्त्र द्वन्द्वकालमा जस्तै चन्दा असुली गर्ने, युवाहरुलाई कम्ब्याड डे«समा मार्चपास गराउने र पार्टीको विभिन्न अभियान चलाइरहेको खबर प्राप्त भइरहेकाले भित्रिमधेस क्षेत्रसहित जिल्लाभरि नै सुरक्षा सर्तकता बढाइएको उहाँ बताउनुहुन्छ ।