कमिसनको कमाल


के सत्ताधारी नेकपाभित्रको पछिल्लो विवादको मूलकारण कमिसन र चन्दा हो ? आमजनतामा यस्तै विश्वास छ । विवादका लागि सैद्धान्तिक प्रश्न नदेखिएकाले र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरुले करोडौं रुपियाँ नेतालाई खुवाएर नियुक्ति पाउने गरेको सन्दर्भ औपचारिक–अनौपचारिकरूपमा सार्वजनिक भएकाले विवादको चुरो भ्रष्टाचारमाथिको हिस्सा नै हो भन्ने आशंकाले बल पाएको छ । राजनीतिक दल र नेताहरुको आर्थिक पक्ष पारदर्शी नभएका कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने अवस्था आउन थालेको प्रतीत हुन्छ ।

नेकपामात्र पनि होइन, नेकासमेतका ठूला दलका नेताहरु एक–आपसमा दन्तबजान गरेर आफ्नै पार्टीका नेताहरुलाई बैरीको व्यवहार गर्न तल्लीन छन् । एकले अर्कालाई सकेसम्म खुइल्याउने र आफू राम्रो हुंँ भन्ने भावनालाई विकसित गर्दै लगेका छन् । चाहे सत्तारूढ दल होस् चाहे प्रमुख प्रतिपक्षी दलहोस् अहिले ती पार्टीमा गाईजात्रा देखिन्छ । शीर्ष नेताहरु एक–आपसमा भिड्न कम्मर कसेर लागेका छन् भने कार्यकर्ता भने अहिलेसम्म विभाजित भइसकेको अवस्था छैन ।

नेताहरुको सम्बन्ध कुकुर र बिरालोको जस्तो भए पनि कार्यकर्ताबीच भने अहिलेसम्म सम्बन्ध सौहार्द नै देखिन्छ । यही बीचमा गणतन्त्रलाई असफल बनाउने गिरोह भने संगठित बन्दै गएको देखिन्छ । चाहे त्यो पूर्वराजावादीहरुको संगठन होस् चाहे प्रतिबन्धित नेत्रविक्रम चन्द समूह नै होस्, उनीहरु विस्तारै दलका गति विधिबाट दिक्क बनेका जनतालाई आफूतिर आकर्षित गर्ने र दलीय व्यवस्था असफल भएको देखाउन उद्दत देखिन्छन् तर दलका नेता भने मेरो गोरुको बाह्रै टक्का भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै जनसमर्थन गुमाउँदै गएका छन् ।

आकाशतिर फर्किएर थुकेपछि अन्ततः आफ्नै अनुहार फोहोर हुन्छ भन्ने सत्यलाई बिर्सिएर नेताहरुले गरेका गतिविधि अराजनीतिक चरित्रका छन् । दुवै दलमा अहिले सिद्धान्तको बहस भन्दा पनि व्यक्तिगत लेन–देनका कारण अन्तहीन आरोप–प्रत्योरोपको शृंखला अघि बढेको छ । यो कार्य दुःखदायी मात्र होइन मुलुकको समृद्धि चाहनेहरुका लागि पीडादायी बनेको छ । हिजो जनतासामु गरिएका वाचाले हावा खाँदै गएको अवस्था छ भने जनतामा गणतन्त्रप्रति नै विस्तारै वितृष्णा पैदा हुँदै गएको छ ।

व्यवस्था असफल बनाउने काममा नेताहरु उद्दत देखिएका छन् । मुलुकले झण्डै साढे दुई दशक अस्थिरताको सामना गरेपछि पछिल्लोपटक दुई तिहाइ बहुमत दिएर कम्युनिस्टहरुलाई सत्ताको बागडोर सुम्पिएको भए पनि कुकुरलाई घ्यु नपचेको भनेजस्तै एउटै पार्टीका नेता दुईतिर विभाजन भएपछि जनता रमिते हुन बाध्य भएको अवस्था छ । अहिलेको समय भनेको मुलुकको समृद्धितर्फ लाग्नुपर्ने समय थियो ।

कम्युनिस्टहरुका लागि अहिलेको अवस्था भनेको स्वर्ण युगजस्तै थियो तर उनीहरु अहिले आफूलाई असली कम्युनिस्ट भन्दा पनि आफ्नो हैसियत देखाउन लालायित देखिन्छन् । यसले न मुलुकलाई हित गर्छ न पार्टीलाई नै । जबसम्म दलका नेता दलीय हैसियत भन्दा माथि उठ्दैनन् मुलुक यसरी नै अस्थिरताको भुमरीमा फस्दै जाने पक्कापक्की जस्तै छ । कुनै पनि पार्टी केही व्यक्तिको व्यक्तिगत सम्पत्ति होइन, लाखौं कार्यकर्ताले बलिदान दिएर ती पार्टीहरु अहिलेको अवस्थामा आइपुगेका हुन्, त्यसतर्फ ती नेताहरुले ध्यान दिन जरुरी देखिन्छ ।