ठेकेदार, कन्सल्ट्याण्ट र एमडीको मिलेमतोमा मध्यभोटेकोसीमा करोडौँको घोटाला (भिडियोसहित)

282
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।

निर्माणाधिन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनामा आयोजनाका कार्यकारी निर्देशक मणीराम काफ्ले, चिनीयाँ ठेकेदार र कन्सल्ट्याण्टको मिलेमतोमा करोडौँ घोटाला भएको प्रमाण फेला परेको छ । स्थानीय समुदायलाई दोष थुपारेर आयोजनाको अवधि लम्ब्याउँदै आयोजनाका कार्यकारी निर्देशक मणीराम काफ्ले, कन्सल्ट्याण्टका दिनेश भण्डारी र चिनीयाँ ठेकेदारका दोभाषे गोविन्द पौडेल करोडौंको आर्थिक चलखेलमा लागेको प्रमाण सार्वजनिक भएको छ ।

आर्थिक चलखेलमा लागेर आयोजनालाई असफल बनाउनमा कार्यकारी निर्देशक मणीराम काफ्ले नै लागिपरेको आयोजनाका प्रमुख सुनिलकुमार लामाले बताउनुभयो । ‘चिनियाँ दोभाषे गोविन्द पौडेलसँग करोडौँको ड्रील भएको अडियो नै फेला परेको छ, सुरुङको टेष्ट नै नगरी कन्सल्ट्याण्टले सिफारीस गरेको छ’, मंगलबार आयोजनास्थलमा स्थानीय सरकारका प्रतिनीधि र स्थानीयबासीसामु आयोजना प्रमुख सुनिलकुमारलामाले भन्नुभयो । दोभाषे गोविन्द मार्फत कन्सल्ट्यान्टका दिनेश भण्डारी र आयोजनाका कार्यकारी निर्देशकका बैंक खातामा रकम जम्मा गरि सुरुङको परीक्षण नै नगरी कन्सल्ट्याण्टले सिफारीस गरेको तर आयोजना प्रमुख सुनिलकुमार लामाले आर्थिक चलखेल पत्तो पाएपछि पास भने भएको छैन । ‘सुरुङ परीक्षण नै नगरी कन्सल्ट्याण्टले सिफारीस पठायो, मैंले पास गर्न मानिँन’, लामाले भन्नुभयो ।

कार्यकारी निर्देशक काफ्ले, कन्सल्ट्याण्ट भण्डारी र दोभाषे पौडेलको सेटिङमा मध्यभोटेकोसी आयोजनाको साईट कार्यालयमा राम्रो काम गर्ने कर्मचारीलाई लामो समय टिक्नसम्म दिइँदैन । काम गर्ने कर्मचारी उनहिरुको सेटिङमा खेदिन्छन्, आयोजना प्रमुख सुनिल लामाले पत्तो सम्म पाउँदैनन् । ‘एमडी यता आउँदा मसँग भेटघाट सम्म हुँदैन, कन्सल्ट्याण्ट र कन्ट्रयाक्टरसँग भेटेर फर्कनुहुन्छ’, लामाले भन्नुभयो, ‘एउटा सामान्य दोभाषेसँग करोडौँ ड्रील गर्ने कार्यकारी निर्देशकले कसरी आयोजना सम्पन्न गर्न सक्छन ?’

०७४ सालमै सम्पन्न हुनुपर्ने मध्यभोटेकोसी आयोजनामा हालसम्म ६० प्रतिशत पनि काम सम्पन्न भएको छैन । आर्थिक चलखेलका कारण पटक पटक म्याद थप गर्दै पछिल्लो पटक पुनः म्याद थप्ने तयारी भइरहेपछि बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पासहित स्थानीय अगुवाहरु मध्यभोटेकोसी आयोजनामा भइरहेको चलखेलको भण्डाफोरमा उत्रनुभएको छ । ‘समस्या सिर्जना गर्दै आयोजनाको म्याद थप्ने र कमाउने खेलमा एमडी मणीराम काफ्ले लागेको प्रमाण भेटियो, एउटा सामान्य दोभाषेसँगको करोडौंको ड्रील गरेको अडियो हामीसँग छ’, बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भन्नुभयो, —‘स्थानीय समुदायका समस्या ज्यूँ का त्युँ छन्, एमडी नै कमाउ धन्दामा लागेर आयोजना असफल बनाउन उद्धत देखिए ।’ राष्ट्रिय गौरवको मध्यभोटेकोसी आयोजनाका धमिराहरुलाई कानुनी कार्वाहीको प्रक्रियामा आफुहरु अघि बढेको उहाँले बताउनुभयो ।

मध्यभोटेकासी जलविद्युत आयोजना क्षेत्रमा स्थानीयका जग्गाजमिन खण्डहर भएको छ । उनीहरुलाई क्षतिपुर्ति दिइनुपर्ने भएपनि हालसम्म क्षतिपुर्ति बापतको रकम नदिएको स्थानीय अगुवा सुप्पा श्रेष्ठले बताउनुभयो । ‘राष्ट्रिय गौरवको आयोजनामाथि चलखेल र खेलवाड गर्नेहरुलाई हामीले जनकार्वाही गर्नु नपरोस, यी अपराधीहरुलाई राज्यले कार्वाही गरोस्’, श्रेष्ठले भन्नुभयो ।