काभ्रे जिल्लामा एकै दिन ४ सय संक्रमित थपिए

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

कोरोना भाईरस संक्रमण हुनेहरुको संख्या जिल्लामा एकै पटक ४ सय भन्दा धेरैको थपिएको छ । विभिन्न अस्पताल तथा जिल्ला बाहिर परिक्षण गर्नेहरुको विवरण जिल्लामा गणना गरिएको थिएन । स्वास्थ्य कार्यालय काभ्रेले एकै पटक मंगलबार ४ सयको संख्या थप गरेको छ ।

सोमबारसम्म जिल्लामा संक्रमण हुनेहरुको संख्या २ हजार ४ सय २१ पुगेको थियो । एकै पटक ४ सय र सोमबार स्वाब लिएर परिक्षण गर्नेहरुको समेत गरी झण्डै २ हजार ९ सयको संख्यामा संक्रमितहरु पुगेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले संख्या थपिएको बताउँदै विभिन्न अस्पतालहरुमा परिक्षण गरी जिल्ला बाहिर रहेका नागरिकहरुको अवस्थाका बारेमा स्वास्थ्य कार्यालय काभ्रेले जानकारी तथा यथार्थ विवरण राखेको बताउनुभयो ।

‘सरकारले देशभरका संक्रमितहरुको केन्द्रिय विवरण संकलन गरेको हुन्छ, त्यसमा जिल्ला जिल्लाको तथ्याङ्क राख्ने क्रममा काभ्र्रेपलाञ्चोक जिल्लाको तथ्याङ्कमा झण्डै ४ सयको हाराहारीमा थपिएको हो’-स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोस्टका सदस्य सचिव बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘यस अघि जिल्लामा भएका र जानकारीमा आएकाहरुको सूचीमा समावेश गरिएको भए पनि जिल्लाबासीहरुले अन्यत्र परिक्षण गराएर केन्द्रिय तथ्याङ्कमा भएका संक्रमितहरुको विवरण थप भएको हो ।’

जिल्लामा धुलिखेल अस्पताल, प्रादेशिक ल्यावमा नियमित संक्रमणको परिक्षण भईरहेको छ । स्थानीय सरकारहरुले स्वाब संकलन गरी प्रादेशिक ल्यावमा स्वाब पठाउने ब्यवस्था गरिएको छ भने धुलिखेल अस्पताल आफैले स्वाव संकलन गरिरहेको छ । चार सय भन्दा धेरै संक्रमित थपिँदा संक्रमणबाट मृत्यु हुनेहरुको सूचीमा एकजना थपिएका छन् ।

सोमबारसम्म जिल्लामा सक्रिय संक्रमित २ हजार ४ सय २१ जना थिए । जसमा पुरुष १ हजार ४ सय ४२ र महिला ९ सय ७९ थिए । त्यस मध्ये निको भईसकेका १ हजार ९ सय ७१ जनामा महिला ७ सय ७४ र पुरुष १ हजार १ सय ९७ जना थिए । संक्रमणबाट मृत्यु हुनेको संख्या जिल्लाका ३५ मध्ये १० महिला र २५ पुरुष थिए । जिल्ला बाहिरका समेत धुलिखेल र बनेपाका अस्पतालमा निधन हुनेहरुको संख्या ४९ पुगेको थियो । नेपालमै पहिलो पटक सिन्धुपाल्चोक जिल्ला घर भएकी महिला कोरोनाबाट धुलिखेल अस्पतालमा निधन भएको थियो ।

संक्रिय संक्रमितहरुको संख्या सोमबारसम्म ४ सय १५ थियो । जस मध्ये महिला १ सय ८० र पुरुष २ सय ३५ रहेको छ । अस्पतालमा १७ जना रहेकोमा महिला ८ र पुरुष ९ जना रहेका छन् । होम आईसोलेसनमा ३ सय ९८ जना छन् । महिला १ सय ७२ र पुरुष २ सय २६ रहेको छ । जिल्लामा रहेका १३ वटा पालिकाहरु मध्ये सबै भन्दा धेरै बनेपा नगरपालिकामा संक्रमितहरु रहेका छन् । धुलिखेल, पनौती, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर नगरपालिमा संक्रमितहर बढेका छन् । पालिकाहरुले आफ्नै आईसोलेसनमा संक्रमितहरुलाई राखेका छन् । धुलिखेल नगरपालिकाको आईसोलेसनमा १२ र बनेपा नगरपालिकाको आईसोलेसनमा ३ जना रहेका छन् । संक्रमितहरु मध्ये आफ्नै घर नभएका ब्यक्तिहरुलाई घरमा बस्न असहज भईरहेको छ ।

संक्रमण फैलन नदिन जिल्ला स्थित कमाण्ड पोस्ट, स्थानीय सरकार, अस्पताल तथा सरोकारवाला निकायहरु सक्रिय भईरहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनु भयो ।