मनोमानी भाडा असुल्दै जिप व्यवसायी


विनोदसिंह विष्ट, बैतडी

बैतडीका ग्रामीण सडकमा सञ्चालनमा रहेका जिप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरूले गुनासो गरेका छन् । जिल्लाका ग्रामीण कच्ची सडकमा सञ्चालित जिप व्यवसायीले मनोमानी भाडा असुल्न थालेका हुन् ।

जिप व्यवसायीले मनोमानी भाडा असुल्न थालेपछि यात्रु मारमा परेका छन् । जिल्लाको सतबाँझदेखि सन्सेरीमाडौंसम्म १४ किलोमिटरको भाडा ३ सयदेखि ४ सय रुपियाँ असुल्ने गरेका सुर्नया गाउँपालिका–४ का प्रेमप्रकाश भट्टले बताउनुभयो । यसअघि १ सय ५० रुपियाँ भाडा भए पनि हाल ४ सय रुपियाँसम्म लिने गरेका उहाँले बताउनुभयो । मनोमानीरूपमा भाडा असुली गरिरहेका भए पनि सम्वन्धित निकाय भने मौन रहेको उहाँको आरोप रहेको छ ।

यता महाकाली बहुउद्देश्यीय यातायात प्रालिका दुर्घटना इन्चार्ज कर्णबहादुर पाण्डेय ‘काजी’ ले भने उक्त सडकमा जिप सञ्चालन गर्न रुट परमिट नभएको बताउनुभयो । उक्त सडकखण्डमा सवारी सञ्चालन गर्नु जोखिमपूर्ण रहेको उहाँको भनाइ छ ।

ग्रामीण कच्ची सडकमा चर्कोरूपमा भाडा असुलेका बारेमा अनुगमन गरिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो । संयुक्तरूपमा अनुगमन गर्ने र तोकिएको भन्दा बढी भाडा असुलेको पाइएमा कारबाही हुने उहाँले बताउनुभयो ।