स्थानीय तहका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी अभाव


दुर्गाप्रसाद शर्मा, पर्वत

पर्वतको स्थानीय तहले कोरोना संक्रमितको उपचारका लागि स्थापना गरेका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी पाउन हम्मे–हम्मे परेको छ । जिल्लाका पैयुँ र महासिला गाउँपालिकाले चिकित्सकीय सेवासहित अस्पताल सञ्चालन गरेको छ भने अन्य स्थानीय तहमा अस्पताल बने पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन ।

नजिकै सुविधासम्पन्न अस्पताल नभएका स्थानीय तहलाई अस्थायी कोरोना अस्पताल बनाउन संघीय सरकारले बजेट विनियोजन गरेर पठाएको थियो । कुस्मा नगरपालिकाबाहेक अन्य ६ स्थानीय तहमा अस्पताल बनाउन केन्द्रको निर्देशन छ ।

पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले पैयुँ गाउँपालिकाले चिकित्सकसहित नर्स र कार्यालय सहयोगीसहित कोभिड अस्पतालमा उपचार सेवा शुरु गरिएको बतानुभयो । अस्थायी कोरोना अस्पतालमा चार जना संक्रमितको उपचार भइरहेको उहाँको भनाइ छ ।

महाशिला गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लुखुका डाक्टर र नर्स करारमा लिएर सेवा सञ्चालन गरेको छ । बिहादी गाउँपालिकामा अस्पताल निर्माणको काम भइरहेको छ भने स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान भए पनि डाक्टरको दरबन्दीमा दरखास्त पेस गरेका छैनन् । नर्स र कार्यालय सहयोगी मात्रै भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताउनुभयो । अन्य कर्मचारी व्यवस्थापन हुन नसक्दा सेवा सञ्चालन नभएको उहाँको भानाइ छ ।

कोरोना अस्थायी अस्पताल बनाएर संक्रमितको उपचार गर्न भन्दै संघीय सरकारले प्रत्येक स्थानीय तहलाई १०–१० लाख रुपियाँ बजेटसमेत पठाइसकेको छ । फलेवास नगरपालिकाले स्वास्थ्यकर्मी नपाएपछि सेवा करारमा लिने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो ।

पाँच शैय्या क्षमताको अस्पतालका लागि मेडिकल अफिसर (डाक्टर) सहित दुई जना नर्स र एक जना कार्यालय सहयोगीको माग गरिएको छ । तीन महिनासम्म अस्थायी कामकाज गर्न डाक्टर आउन नमानेका कारण अस्पताल बनेर पनि सेवा शुरु हुन नसकेको मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतको कथन छ । अधिकांश स्थानीय तहमा नर्स र कार्यालय सहयोगीमा धेरैको आवेदन परेको छ । तर, डाक्टर पाउन हम्मे–हम्मे परेको छ ।

स्थानीय तहपिच्छे अस्पताल बनाउनुभन्दा भएका अस्पताललाई उपकरण र चिकित्सकको व्यवस्था गरिदिएको भए अहिलेको समस्या नआउने पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुहुन्छ । नजिकैको अस्पतालबाट करारमा कर्मचारी लिएर सेवा गर्न सकिने सुझाव उहाँको छ ।

कोरोना संक्रमितको उपचारका लागि स्थानीय तहलाई अस्पताल बनाउन भनिए पनि जनशक्तिको व्यवस्थापनमै समस्या झेल्नुपर्दा कोरोना संक्रमितको गाउँघरमै उपचार गर्न खोजिएको प्रयास सफल हुन सकेको छैन ।