जी २० बैठक छोडेर गल्फ खेल्नमा व्यस्त ट्रम्प


वासिंगटन (एजेन्सी) ।

जी २० को शिखर सम्मेलनमा कोरोना महामारीका विषमा चर्चा भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बैठकको बीचैमै उठेर गएको बताइएको छ । ट्रम्प उक्त छलफलमा मात्र १३ मिनेट बसेको र केही समयपछि आफ्नो गल्फ क्लबमा देखिएको सञ्चारमाध्यमले बताएका छन् ।

शनिबारको उक्त घटनापछि शिखर सम्मेलनको अन्तिम दिन आइतबार पनि उनी बैठकमा देखिएनन् । उनी भर्जिनियामा गल्फखेल्न प्रस्थान गरेको बताइएको छ ।

महामारीले विश्वमा हरेक देश चपेटामा फसिरहेका छन् र उन्मुक्तीका लागि संघर्ष गरिरहेका छन् । अमेरिकामा संंक्रमित र मृत्यु दर सबैभन्दा अगाडि रहेको छ । यसका बावजुद ट्रम्पले महामारीलाई गम्भीरतापूर्वक लिन तयार छैनन् ।

ट्रम्प ह्वाइट हाउसको सिचुएसन रुमबाट भर्चुअल समिटमा आबद्ध भएको सीएनएनले जनाएको छ । उनी १३ मिनेट मात्रै सक्रिय देखिए । त्यसपछि राष्ट्रपति चुनावमा धाँधलीसँग सम्बन्धित उनका आरोपहरुको ट्विट देखिन थाले । विश्वका करिब २४ नेता यस शिखर सम्मेलनमा सहभागी थिए र सबैले महामारीलाई लिएर आपसी सहयोगको विषयमा गरिरहेका थिए तर ट्रम्पको यस्तो व्यवहारले भभने सबैलाई अचम्मित तुल्याएको बताइएको छ ।

ट्रम्पले समिट छोड्दा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों, जर्मन चान्सलर एन्जेला मर्केल र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सहित बाँकी नेताहरु छलफलमा व्यस्त थिए । ट्रम्पले भने यस छलफलमा भाग लिएनन् । यसबीच ट्रम्पको गल्फ खेल्ने तयारी गरेको तस्वीर सार्वजनिक भएको थियो । तर उनले यस विषयमा भने कुनै ट्विट गरेको छैन । आइतबार जी २० को दोस्रो तथा अन्तिम दिन हो ।

ह्वाइट हाउसद्वार जारी कार्यतालिकामा ट्रम्पले त्यसमा भाग लिने उल्लेख गरिएको थियो । तर शनिबार जुन व्यवहार उनले देखाए त्यसले उनी यसमा सहभागी हुने सम्भावना पनि कम भएको बताइएको छ ।