शेयर बजारमा कीर्तिमानी कारोबार



नेपाल समाचारपत्र, काठमाडौं

लगातार बढ्दै गएको शेयर बजारमा पछिल्ला दिनमा दिनहुँ नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला दिनमा उच्च कारोबार रकमले रेकर्ड कायम गर्न थालेको हो ।

साताको पहिलो दिन आइतबार अघिल्लो साताको अन्तिम कारोबारको रेकर्ड भंग गर्दै हालसम्मकै उच्च कारोबार अर्थात ६ अर्ब ९० करोड ६७ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । गत बिहीबार ६ अर्ब ११ करोड रुपियाँभन्दा माथिको कारोबार भई कीर्तिमान कायम भएको थियो ।

विगतमा एक साताभन्दा बढी समयमा पनि नहुने शेयर किनबेच पछिल्ला दिनमा एक दिनमा नै हुने गरेको छ । विश्लेषहरूका अनुसार पुँजी बजारमा यतिखेर सकारात्मक तरङ उत्पादन भएको छ । यो तरङ केही समयसम्म जारी रहने बताइएको छ ।

आइतबारको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निक्कै उतार चढावपूर्ण रहेको थियो ।करिब ५० अंकको उतारचढाव भए पनि अन्ततः नेप्से ४ दशमलव ६९ अंकले बढेर १७८२ दशमलव ८१ बिन्दुमा पुगेको छ । १८११ बिन्दुमा पुगेको परिसूचक फर्किएर १७ सयमै झरेको हो ।

यद्यपि, हालसम्मको १८८१ को उच्च रेकर्डलाई छिट्टै भेट्टाउने अनुमान गरिएको छ । कुल २०१ वटा कम्पनीको १ करोड ६० लाखभन्दा बढी कित्ता शेयर खरिद बिक्री भएको दिन कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको मात्रै सूचक वृद्धि भएका छन् । बाँकी सबैको सुचक तल झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्