नेहा १० वर्षमै यौन उत्पीडनको शिकार !


बलिउडमा मि टुबारे एकपछि अर्को अभिनेत्रीले आप्नो अनुभव शेयर गरिरहेका छन्। अब यस मामलामा आप्नो अनुभव राख्नेमा भारतीय गायिका पनि थपिएकी छिन्।

हालै भारतीय गायिका नेहा भसिनले आफू यौन उत्पीडनमा परेको एक घटनाबारे बोलेकी छन्। नेहाले आफु १० वर्षको उमेरमै यौन उत्पीडनको शिकार हुन परेको बताएकी छिन्। आजतकको अनलाइन संस्करणका अनुसार नेहाले आफू भारतको सबैभन्दा ठूलो धार्मिकस्थल हरिद्वार गएका बेला यौन दुव्र्यवहारमा परेको बताएकी छिन्।

उनले भनेकी छिन्– ‘म हरिद्वार गएको थिएँ। मेरी आमा मभन्दा केही पर हुनुहुन्थ्यो। त्यसै बेला अचानक आएको एक अपरिचित व्यक्तिले मलाई शरीरको पछाडिबाट हात राख्यो। उसको यो व्यवहारबाट म हैरान भएँ र त्यहाँबाट भागे। त्यसको केही वर्षपछि फिल्म हेर्न हलमा गएका बेला एक व्यक्तिले मलाई गलत तरिकाले छोएको थिए।’ नेहाले अगाडि भनेकी छिन्– ‘म पहिले–पहिले मेरो साथ यस्तो हुनुमा मेरै गल्ती हो भन्ने सोच्थँे। तर, अहिले मानिसहरु सामाजिक सञ्जालमार्फत दिमागी, शारीरिक, आध्यात्मिक तथा भावनात्मकरूपमा शोषण गर्छन् यसलाई मबिना अनुहारको आतंकवाद सम्झिन्छु।’

बलिउडमा नेहा आप्नो फरक गायकी शैलीका लागि चिनिन्छिन्। उनले मेरे ब्रदरकि दुल्हन, टाइगर जिन्दा हे, फोर्सलगायतका फिल्मका लागि गीत गाएकी छिन्। उनी एकल गायन तथा एल्बमका लागि पनि रोजाइको गायिकामा पर्छिन्।