राष्ट्रपतिको ट्वीटर अकाउन्ट हस्तान्तरण हुने


लसएन्जल्स, (एजेन्सी)
ट्वीटरले अमेरिकी राष्ट्रपतिको आधिकारिक पोटस अकाउन्टको नियन्त्रण राष्ट्रपति चुनावमा विजयी भएका जोय बाइडेनलाई जनवरी २० मा उनको शपथ ग्रहणलगत्तै सुम्पने जनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा हार स्वीकार नगरे भए पनि यो हस्तान्तरण प्रक्रिया पूरा गर्ने ट्वीटरले जनाएको छ। पोटस अर्थात् प्रेसिडेन्ट अफ यूएस (पीओटीयूएस) अमेरिकाका राष्ट्रपतिको आधिकारिक ट्वीटर खाता हो र यो डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आएको खाताभन्दा भिन्न हो। ७८ वर्षीय बाइडेन शपथ ग्रहणपछि अमेरिकाको ४६औं राष्ट्रपति बन्नेछन्।
अकाउन्ट सुम्पने प्रक्रियामा ट्रम्पको टोली र नयाँ राष्ट्रपति बन्न गइरहेका बाइडेनका टोलीबीच सूचना साझा गर्न कुनै आवश्यक नभएको ट्वीटरले जनाएको छ। यस खातामा रहेका सबै ट्वीट संग्रह गरी राखिने र शपथ ग्रहणको दिन विनाकुनै ट्वीट नयाँ खाताको रूपमा बाइडेनलाई सुम्पने कम्पनीले जनाएको छ। ट्वीटर सन् २०२१ जनवरी २० मा ह्वाइट हाउसको संस्थागत ट्वीटर खाता हस्तान्तरणका लागि सक्रियतापूर्वक तयारीमा जुटिसकेको ट्वीटरका प्रवक्ता निक पेसिलियोले एक इमेलमा जनाएका छन्।
यही प्रक्रिया ह्वाइट हाउस, उपराष्ट्रपति आदिका ट्वीटर खातासँग पनि हुने कम्पनीले जनाएको छ।
मौजुदा राष्ट्रपति ट्रम्पले चुनाव नतिजालाई स्वीकार नगरेको अवस्थामा शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई लिएर अमेरिकामा विभिन्न सम्भावनाका विषयमा चर्चा भएको छ। सत्ता हस्तान्तरण अर्थात् नयाँ राष्ट्रपतिको शपथ ग्रहण अझै दुई महिना बाँकी छ। यस अवधिमा ट्रम्पबाट चाल्न सकिने कदम र त्यसको असरले शपथ ग्रहणलाई प्रभावित पार्न सक्नेमा सबै सशंकित छन्।