अक्सफोर्डको कोभिड–१९ खोप वृद्धिका लागि प्रभावकारी


लन्डन, (एजेन्सी)

अक्सफोर्ड युनिभर्सिटीको कोरोना भाइरस खोपले ५६ देखि ६९ र ७० वर्षभन्दा बढी उमेरका स्वस्थ व्यक्तिमा प्रतिरोधात्मक क्षमता उत्पन्न गराएको दाबी गरिएको छ।

द लान्सेटले प्रकाशित गरेको ५ सय ६० स्वस्थ व्यक्तिमा गरिएको एक अध्ययनको डाटामा उक्त तथ्य उल्लेख गरिएको हो। उक्त शोधपत्रमा सीएचएडीओएक्स १ एनकोभ १९ खोपलाई सुरक्षित भएको बताइएको छ र यसमा कुनै गम्भीर प्रकारको साइड इफेक्ट देखिएको छैन।

बढी उमेरका व्यक्तिमा कोभिड–१९ संक्रमणको जोखिम धेरै हुने भएकाले यो नतिजा उत्साहजनक भएको शोधकर्ताले बताएका छन्। त्यसैले, धेरै उमेर समूहका व्यक्तिका लागि प्रभावकारी हुने खोप विकसित हुन आवश्यक महसुस गरिएको थियो।

अक्सफोर्ड खोप समूहमा आबद्ध डाक्टर महेसी रामासामीले बढी उमेर समूहका व्यक्तिमा खोपको राम्रो परिणाम आएकोमा खुसी व्यक्त गरे। बेलायतले अक्सफोर्डको यो खोपको १० करोड खुराक पहिले नै अर्डर दिएको छ।

तेस्रो चरणको परीक्षणमा रहेको यो खोपको प्रारम्भिक परिणाम आगामी केही हप्तामा आउने अपेक्षा गरिएको छ। हालसम्मको नतिजाले अधिक आयु भएका वयस्कका लागि प्रभावकारी रहेको मात्र नभई युवा स्वयंसेवकमा पनि समान रोग प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गरेको रामासामीले बताए।