अलकायदा नेता अल जवाहिरीको अफगानिस्तानमा मृत्यु


काबुल, (एजेन्सी)
विश्वको सबैभन्दा कट्टर इस्लामिक संगठनमध्येका एक अलकायदाका प्रमुख अयमान अल जवाहिरीको अफगानिस्तानमा निधन भएको छ। उनको मृत्यु प्राकृतिक कारणले भएको अरब न्युज सूत्रले जनाएको छ। जवाहिरी अन्तिमपटक सेप्टेम्बर ११ को हमलाको वर्षगाँठमा जारी एक भिडियोमा देखिएका थिए। यद्यपि, अरब न्युजले जवाहिरीको मृत्युको पुष्टि गरेको छैन। सन् २००१ सेप्टेम्बरमा अमेरिकी गौरव विश्वकै सबैभन्दा अग्लो ट्वीन टावर, वल्र्ड ट्रेड सेन्टर, विश्वकै सबैभन्दा शक्तिशाली रक्षा विभाग पेन्टागन र पेन्सिलभेनियामा अपहरित यात्रुवाहक विमान ठोक्काइ भएको भीषण आक्रमणमा अलकायदा संगठन जिम्मेवार मानिएको छ। उक्त संगठनका तत्कालीन प्रमुख तथा इस्लामिक कट्टरपन्थी नेता ओसामा बिन लादेन सन् २०११ मा पाकिस्तानको एओटाबादमा एक गोप्य अमेरिकी कमान्डो कारबाहीमा मारिएका थिए। लादेनको निधनपछि कमजोर बनेको उक्त संगठनको नेतृत्व अल जवाहिरीले लिएका थिए।
अरब न्युजले अलकायदाका एक अनुवादकलाई उद्धृत गर्दै गत हप्ता अफगानिस्तानको गजनीमा जवाहिरीको मृत्यु भएको दाबी गरेको हो। उपचारको अभावमा दमका कारण मृत्यु भएको पाकिस्तानका एक सुरक्षा अधिकारीले दाबी लिएका छन्।
अलकायदाको निकट सूत्रले पनि यसै महिना जवाहिरीको मृत्यु भएको दाबी गरेको थियो। तीमध्ये केही व्यक्ति उनको अन्त्येष्टिमा सहभागी भएका थिए।
अरब न्युजका अनुसार जवाहिरीको मृत्युले संगठनको नेतृत्वका लागि कलह हुन सक्ने आशंका व्यक्त गरिएको छ। यसअघि ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन र अलकायदाका शक्तिशाली नेता अबु मोहम्मद अल मसरीको मृत्यु भइसकेको छ।
अयमान अल जवाहिरी पेशाले चिकित्सक थिए। उनले कायरो युनिभर्सिटीबाट सन् १९७४ मा चिकित्साशास्त्रको अध्ययन पूरा गरेका थिए। सन् १९७८ मा उनले शल्यक्रियामा एम डी पूरा गरेका थिए। उनले तीन वर्ष एक शल्य चिकित्सकका रूपमा इजिप्सियन आर्मीमा बिताएका थिए। पछि, उनी इस्लामिक वुद्धिजीवीका रूपमा चिनिएका थिए। सन् १९५१ जुन १९ मा इजिप्टको मादीमा उनको जन्म भएको थियो।
अल जवाहिरीले कम्तीमा ४ पटक विवाह गरेको अनुमान गरिएको छ। उनका पत्नीमा अज्जा अहमेद नोवारी र उमाइमा हसन हुन्। जवाहिरीका ६ सन्तान रहेको बताइएको छ।