फ्लोरिडामा अवैध यौन सञ्जालमा आबद्ध १ सय ७० पक्राउ


टल्लाहास्सी, (एजेन्सी)

अमेरिकाको फ्लोरिडा राज्यको टल्लाहास्सी शहरको प्रहरी विभागले एकजना किशोरीमाथि भएको यौन शोषणका बारेमा लगातार दुई वर्षसम्म गरेको गहन अनुसन्धानपछि केही महिनायता उक्त अवैध यौन सञ्जालमा आबद्ध १ सय ७० बढी व्यक्ति पक्राउ परेका छन्।

मंगलबार टल्लाहास्सी प्रहरी प्रमुख लरेन्स रेभेल र राज्य तथा संघीय वरिष्ठ अधिकारीले ‘अपरेसन स्टोलन इन्नोसेन्स’ नामक यस गोप्य अनुसन्धान व्यावसायिक यौन धन्धामा जबर्जस्ती लगाइएकी एक १३ –१४ वर्षीया किशोरीको खोजीका लागि शुरू गरिएको बताएका छन्। रेभेलका अनुसार प्रहरीले महिनौंसम्म यस अनुसन्धानबारे उच्चारणसम्म गर्न अस्वीकार गरेको तथा सम्भवतः टल्लाहास्सीको इतिहासकै यो सबैभन्दा ठूलो प्रहरी अनुसन्धान हुनुपर्ने बताएको छ।

पक्राउ परेकामध्ये सय बढी माथि गलत कार्य गरेको, मानव ओसारपसार, १६ वर्षभन्दा कम उमेरका बालकलाई जबर्जस्ती यौनकार्यमा आकर्षित पारेको, अश्लिल क्रियाकलाप गरेको र बालबालिकासम्बन्धी अश्लिल सामग्री उत्पादन गरी साथमा राखेको जस्ता थुप्रै अभियोग लगाइएको प्रहरीले जनाएको छ। त्यसैगरी, अन्य ७२ जनाविरुद्ध व्यभिचार र किशोरीलाई जबर्जस्ती वेश्वावृत्तिजस्तो अभियोग लगाइएको छ। पक्राउ पर्नेमा नाम चलेका समाजसेवीदेखि शिक्षक शिक्षिकासमेत छन्।

अभियोग लगाइएकामा अधिकांश महिला छन्। तिनीहरूले किशोरीलाई यौन धन्धामा लगाउन दलाली गर्ने गरेको पाइएको छ। अनलाइन सेक्सका लागि नगद भुक्तानी गरिएको सूचीमा एकजना किशोरी देखिएपछि प्रहरीले सन् २०१८ को उत्तरार्धमा यस ऐतिहासिक अनुसन्धान शुरू गरेको थियो।

प्रहरीलाई बयान दिने क्रममा किशोरीकी आमाले पैसा र लागूऔषध नदिउञ्जेल आफ्नी छोरीसँग कसैलाई यौन सम्पर्क राख्न नदिने बताएकी छन्। अमेरिकी न्यायाधीश ल्यारी किफले बाल यौन ओसारपसारकर्ता विरुद्धको अभियान जारी रहने बताएका छन्।