उल्का पिण्डले मालामाल


जाकार्ता, (एजेन्सी)

इन्डोनेसियामा कफिन बनाउने ३३ वर्षीय जोसुआ हुतागलंग एक दुर्लभ घटनापछि करोडपति बनेका छन्। जोसुआको घरमा आकाशबाट एक अनमोल पत्थर झरेपछि उनी करोडौं सम्पतिका मालिक बनेका हुन्।

जोसुआको घरमा आकाशबाट एउटा ठूलो उल्का पिण्ड खसेको थियो। यो करिब साढे ४ अर्ब वर्ष पुरानो दुर्लभ उल्का पिण्ड हो। उल्का पिण्ड खसेका बेला जोसुआ उत्तरी सुमात्राको कोलांगस्थित आफ्नो घरसँगै काम गरिरहेका थिए। आकाशबाट झरेको उक्त पत्थरको तौल २ दशमलव १ किलोग्राम छ।

उल्का पिण्ड झर्दा उनको घरको छतमा ठूलो प्वाल परेको र १५ सेन्टिमिटर जमिन धस्सिएको बताइएको छ। आकाशबाट झरेको उक्त पत्थरले जोसुआको आर्थिक संकट समाप्त भएको छ। यो उल्का पिण्डको बदलामा जोसुआलाइ १४ लाख पाउन्ड प्राप्त भएको छ। जासुआले खाल्डो खनेर धस्सिएको अमूल्य उल्का पिण्ड निकालेका थिए।

उक्त उल्का पिण्ड साढे ४ अर्ब अर्थात् पृथ्वीको आयु बराबर पुरानो र अत्यन्त दुर्लभ प्रकारमा गणना हुने बताइएको छ। यसको मूल्य प्रतिग्राम ८ सय ७५ डलर छ। जमिनबाट निकाल्दा उक्त पिण्ड अत्यन्तै तातो भएको र आंशिकरूपमा फुटेको जोसुआले बताए।

उल्का पिण्ड खस्दा धेरै ठूलो आवाज आएको र घर नै हल्लाएको उनले बताए। उनले भने– ‘जब मैले छत हेरें, त्यहाँ ठूलो प्वाल परेको थियो। यो पत्थर आकाशबाटै झरेको उल्का पिण्ड नै हुनुपर्छ भन्ने मलाई लाग्यो। मेरो छतमा कसैले कुनै पत्थर फ्याँक्नु करिब असम्भव छ।’

स्थानीयले पनि ठूलो आवाज सुनेको र उनीहरूको घर पनि हल्लिएको बताए। दुर्लभ उल्का पिण्ड खसेपछि जोसुआको घर हेर्न आउनेको भीड लागेको थियो। जोसुआले भने– ‘धेरै जना मेरो घर आएर उत्सुकतापूर्वक हेरिरहेका छन्।’

यो पत्थरले जासुआलाई उनले ३० वर्ष काम गर्दा प्राप्त हुने कुल तलब बराबरको पैसा प्राप्त भएको छ। तीन सन्तानका पिता जोसुआले उक्त पैसा समुदायका लागि चर्च निर्माण गर्ने बताए। उनी सधंै एक छोरी पाउने कल्पना गरिरहन्थे, अब पत्थर खस्नु त्यसका लागि राम्रो संकेत हुन सक्ने आफूलाई लागेको उनले बताए।