बीबीसीको सहयोगमा बच्चा चोरी गर्ने पक्राउ


नैरोबी, (एजेन्सी)

बालबालिका चोरी गरी बिक्री गर्ने विषयमाथि बीबीसीले गरेको अनुसन्धानपछि केन्याको प्रहरीले बालबालिका ओसारप्रसार सञ्जाल सञ्चालन गरेको अभियोगमा तीनजना वरिष्ठ चिकित्सकीय अधिकारीलाई गिरफ्तार गरेको छ। बीबीसी अफ्रिका आइले अवैध क्लिनिकहरू र नैरोबीस्थित एउटा सरकारी अस्पतालले गरेको अर्डरबमोजिम बालबालिकाको चोरी हुने गरेको रहस्य उद्घाटन गरेको हो।

प्रत्येक बच्चा न्यूनतम ४ सय अमेरिकी डलरमा बिक्री हुने गरेको बताइएको छ। प्रहरी प्रमुख आयुक्तले अन्य अस्पतालमा र नैरोबीस्थित चिल्ड्रेन्स होम्समा यस सम्बन्धमा थप अनुसन्धान गर्न आदेश दिइसकेका छन्। प्रहरी आयुक्त हिलारी मुत्याम्वाइले हालसम्मको अनुसन्धानबाट यस अवैध कार्यमा वरिष्ठ चिकित्सकीय अधिकारीको निकट संलग्नता रहेको जानकारी दिएका छन्।

बीबीसी अफ्रिका आइले तिनीहरूले सडक जीवन बिताउने दुःखी महिलाबाट र राजधानी नैरोबीमा सञ्चालित अवैध क्लिनिकबाट बच्चा चोर्ने गरेको जनाएको छ। अस्पतालमा चिकित्सकीय स्वयंसेवकको रूपमा कार्यरत फ्रेड लपारान नामक व्यक्तिले गोप्यरूपमा अनुसन्धानरत पत्रकारलाई अलपत्र अवस्थामा फ्याँकिएका दुई साताको एक शिशुलाई २ हजार ७ सय अमेरिकी डलरमा बिक्री गर्न राजी भएका थिए। लेपारान र उनी कार्यरत मामा लुसी किवाकी अस्पतालले यस विषयमा केही पनि बोल्न नचाहेको बताइएको छ।