चीनद्वारा लद्दाखमा भारतीय सैनिकविरुद्ध माइक्रोवेब हतियारको प्रयोग


नयाँदिल्ली, (एजेन्सी)
चीनले भारतसँगको विवादास्पद सीमा क्षेत्रमा भारतीय सैनिकविरुद्ध घातक माइक्रोवेब हतियारको प्रयोग गरेको छ। पूर्वी लद्दाखको रणनीतिकरूपमा महŒवपूर्ण पर्वत कब्जा गरी बसेका भारतीय सैनिकमाथि चीनको पिपुल्स लिबरेसन आर्मीका सेनाले उक्त हतियारको प्रयोग गरेका हुन्। हतियारको प्रभावका कारण भारतीय सैनिक ती शिखरबाट हट्न बाध्य भएको बताइएको छ।
चीनले एक घातक हतियार माइक्रोवेब किरणको प्रयोग गरेको बेइजिङस्थित रेनमिन युनिभर्सिटीका प्रोफेसर जिन कानरोङले बताएका छन्। यसको चपेटामा आएलगत्तै सैनिकलाई धेरै पीडा भएको र त्यहाँ बसिरहन धेरै समस्या भएको थियो। बन्दुकजस्ता परम्परागत हतियार जस्तै यो हतियारको प्रयोग गरिने विश्लेषकले बताए।
भारत र चीनबीच सन् १९९६ मा भएको सन्धिअनुसार कुनै पनि घातक हतियार प्रयोग गर्न प्रतिबन्ध छ। यसअघि गलवान घाँटीमा पनि दुई देशका सैनिकबीच भएको हिंसात्मक भिडन्तमा दर्जनौं भारतीय सैनिक मारिएका थिए।
गोली प्रहारविना दुई शिखरमाथि कब्जा
प्रोफेसर जिनले एक भाषणमा माइक्रोवेब हतियारको प्रयोग भएको दाबी गरेको बेलायती अखबार द टाइम्सले जनाएको छ। उक्त हतियारको मद्दतले चीनले विनाकुनै गोली दुई पर्वतीय शिखरमाथि कब्जा गरेको उनले बताए। ती शिखरमा भारतीय सैनिकको कब्जा थियो। जिनले भने– ‘हामीले यसलाई धेरै प्रचार गरेनौं, किनभने हामीले अत्यन्तै सुन्दर तरिकाले यो समस्या समाधान गरेका थियांै।’
भारतले नराम्रो हार व्यहोर्नु परेको दाबी गर्दै पहाडको फेदमा बसेका चिनियाँ सैनिकले पर्वतको टुप्पामा बसेका भारतीय सैनिकमाथि माइक्रोवेब हतियार प्रयोग गरेको जिनले दाबी गरे।
माइक्रोवेब गनको प्रयोग गरेको १५ मिनेटपछि नै भारतीय सैनिकले बान्ता गर्न थालेका र उनीहरू शिखर छाडेर जान बाध्य भएको जिनले बताए। विश्वमा यस प्रकारको हतियार आफ्ना शत्रु सेनाविरुद्ध प्रयोग गरेको पहिलो उदाहरण भएको द टाइम्सले जनाएको छ। चीनबाहेक अमेरिकाले इलेक्ट्रोम्याग्नेटिक रेडिएसन हतियारको प्रयोग गरिसकेको छ। चीनको यो हतियारले मान्छेलाई छटपटाउन बाध्य पार्ने मात्र नभई इलेक्ट्रोनिक तथा क्षेप्यास्त्र प्रणालीलाई पनि ध्वस्त पार्न सक्छ।
यस प्रकारको हतियारलाई डाइरेक्ट एनर्जी वेपन पनि भन्ने गरिन्छ। केही देशले इलेक्ट्रोम्याग्नेटिक रेडिएसनको सट्टा साउन्ड वेबको प्रयोग गरेका छन्। यसअघि कैयौं अन्य देशमा यस प्रकारको हतियारको प्रयोग भएको अनुमान लगाइएको थियो।
क्युबामा अमेरिकी अधिकारीमा प्रयोग
सन् २०१६ मा क्युबामा अमेरिकी दूतावासका केही अधिकारीले उनीहरूलाई बान्ता आउने, नाकबाट रगत बग्ने र मानसिक तनाव भएको समस्या बताएका थिए। पछि हवाना सिन्ड्रोम भनिएको उक्त घटनामा अमेरिकी अधिकारीविरुद्ध लुकेर सोनिक वेपनको प्रयोग भएको अनुमान लगाइएको थियो। अमेरिकी अधिकारीले यस प्रकारको समस्या चीन र रूसमा पनि गरेका थिए। दूतावासका केही कोठामा उनीहरूले ती समस्या भोग्नुपरेको बताएका हुन्।
भारत र चीनबीच लद्दाखमा जारी गतिरोध अन्त्यका लागि वार्ता जारी छ। दुवै पक्षबीच सेना हटाउने विषयमा सहमतिको नजिक पुगेको बताइएको छ। यद्यपि, घोषणा भने भएको छैन।