रमेशकेशरी वैद्य
संसारमा भगवान्ले दुई वर्गका मानव जीव बनाएको हुन्छ, जसमा एक महिला र एक पुरुष छन् । यसमा दुई पक्षकै योगदान र सहयोगले संसार चलिराखेको छ । तैपनि हामीले पुरुषभन्दा महिलालाई अलि बढी श्रेय दिइराखेका हुन्छौं । यसको खास कारण हो– पुरुषको तुलनामा महिला कमजोर तथा कमलो हुनु । तर भनेर के गर्ने, नारी जात प्रिय हो । कारण यिनीहरुले हामीलाई जन्म दिन्छन्, संसार देखाउँछन् ।
त्यस कारण यिनीहरुलाई सम्मान दिनु प्रत्येक नागरिकको कर्तव्य हो । तैपनि मानिसको अहंकारले भनौं या शिक्षाको कमीले गर्दा भनौं, मुलुकमा हरसमय यातना, बलात्कार, थिचोमिचो आदि कारणहरुले गर्दा महिलाहरुमा प्रायः हीनताबोधको आभास भइराखेको हुन्छ । तर अहिले समयअनुसार महिलाहरुमा शिक्षा, आत्मसुरक्षा, सुविधा आदि कारणहरुले गर्दा यिनीहरुप्रतिको विकृति केही कम पनि भइराखेको छ । यसप्रति हुनुपर्ने कडाभन्दा कडा कानुनको कार्यान्वयन अझै हुन सकिराखेको छैन । अहिले हाम्रो मुलुकमा पनि नारीको लागि जे होस्, सरकार तथा समाजले पनि सहुलियत र पुरुषलाई सरह सम्मान एवं इज्जत दिइराखेका छन् । जुन प्रत्यक्षरुपमा हामी देखिराखेका छौं ।
कतिपय महिलाहरु मन सानो, झगडालु, घर भाँड्नेहरु पनि छन् । यसबाहेक नेतालाई देशको रकम सोहोर्न प्रोत्साहन दिने गृहणीहरु पनि छन् । तर यस्ता महिलाहरुलाई चाहिँ समाजले भुलेर पनि हौसला दिनुहुँदैन । यही मुलुकमा सडेको गोलभेंडासरह यस्ता महिलाहरुको सोच र मन परिवर्तन गर्नका लागि राम्रा–राम्रा छवि भएका महिलाहरु नै जागरुक र अग्रसर हुनुपर्दछ । अन्यथा कैयौं घर यसै गरी अझ बरबाद हुँदै जानेछन् । फलामले फलामलाई काट्छ भनेसरह महिलाहरु नै यो विकृति रोक्न समाजमा उत्रनुपर्दछ । यो प्रकृतिको दस्तुर नै हो, महिलालाई पुरुष र पुरुषलाई महिलाको आवश्यक पर्दछ, जीवनको लामो यात्राको लागि र जीवन साथीको रुपमा ।
आजभोलि पारपाचुकेको फेसन शिक्षित वर्गमा प्रख्यात भएको छ । हाम्रो मुलुकमा पनि विदेशीको हावाले गर्दा पुरुष–महिलामा एक–अर्कालाई सेक्स डल याने कि यौन खेलौना मात्र सम्झने संस्कार पैदा भएको छ । यदि यस्तो सोच भएमा र एक–अर्कालाई माया गर्ने क्षमता नभएमा विवाह बन्धन नै किन रोज्ने ? त्यसकारण पारपाचुकेजस्ता गलत प्रक्रियालाई बन्द गर्नु आवश्यक छ । आपसमा सानातिना गल्ती हुँदा एक–अर्काले माफी माग्ने अर्थात् एक–अर्काले आँखा चिम्लने बानी बसाउनुपर्दछ । अथवा एक–अर्काले विवाहअगाडि नै आनिबानी तथा महत्वाकांक्षा जान्न जरुरी छ । यदि यस्ता विधिहरु अपनाउने हो भने पारपाचुके याने कि डिभोर्सजस्ता प्रक्रिया बन्द हुँदै जानेछन् । अथवा जहाँ पारपाचुके हुन्छ त्यहाँ महिला–पुरुषबीच अशान्ति हुनुबाहेक यिनीहरुको सन्तानको पनि भविष्य चकनाचूर हुन सक्छ ।
हामीले समाजमा बसेर राज्यलाई गाली गर्नुसिवाय यस्ता विकृतिहरुका लागि पनि सबै नागरिक मिली मद्दतका लागि पहल गर्नुपर्दछ । ताकि आइन्दा यस्तो कार्यविधि नहोस् । यसबाहेक अझै पनि आपसका गल्तीलाई स्वीकार गरी फेरि ठण्डा दिमाग लिएर पनि मिल्न सकिन्छ । संसारमा असम्भव भन्ने कुरा केही छैन । किनकि कतिपय भाँडाहरु फुटेर फेरि जोडिई चलिराखेको पनि हामीले देखेका छौं ।
प्रतिक्रिया