बेलुनबाट बनेको डायनोसोरको कीर्तिमान


इस्तानबुल, (एजेन्सी)
टर्कीमा कलाकारको एक टोलीले जैविकरूपमा नाश गर्न सकिने करिब १ लाख ५० हजारवटा बेलुनबाट २५ फिट अग्लो डायानोसोरको आकृति तयार पारी गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएका छन्।

गिनिजले कलाकार गुइदो भर्होएफ, बाहार बेलिसान र विल्ली मोनोरोले बेलुन क्रिउ क्लब खडा गरी इस्तानबुलमा डायनोसोरको विशाल मूर्ति बनाएको जनाएको छ।

यसको आकार २५ फिट ९ इन्च अग्लो र ६४ फिट ५ इन्च चौडा रहेको छ। बेलुन एनिमल किङडम प्रदर्शनीको दौरान इस्तानबुल मलमा यसको निर्माण भएको हो।

हालसम्म बेलुनबाट बनाइएको डायनोसोरमध्ये सबैभन्दा लामो भएको आधारमा यसले गिनिज वल्र्ड रेकर्ड उपाधि जितेको हो।