कथा: निधारको चोट

282
Shares

सन्तोष तिमल्सिना

निधारलाई छोपेको कपाललाई पन्छ्याउँदै बैनीको देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औलाले केशरी लगाउँदै गर्दा बिचैमा टक्क रोकेर बैनी सोध्छे । “निधारमा त खत पौ रैत त ! केको चोट हो दाई ?” उसको प्रश्न भुईमा झर्न नपाउँदै मैले जवाफ दिएँ । त्यो कुरा पछि गरौंला । पहिले साईतको टिका त लगाऊँ ।

टिका लगाई सकेपछि बैनीले सोधिन । ‘दाई निधारमा कसरी चोट लागेको ?’ हुँ ! म अनकनिदै थिएँ । मलिन अनुहार पार्दै फेरी भनिन् । “भन्नु न के । नभन्ने भए म त रोहिदिन्छु ।” बैनी घुर्काउन थाल्छे ।

राति अँध्यारोमा धोकामा ढोकिएर काटेको । मैले जवाफ दिएँ । टिकाको थाली वर तानेर बैनीलाई लगाईदिँदै गर्दा उस्ले मेरो मुखमा फुर्लुक्क हेरी । म मुसुक्क हाँसे । मेरो हात च्याप्प समातेर उसको टाउकोमा राखीन । “तपाईले मसंग झुट बोले जस्तो छ । यो भन्दा अगाडी त मैले निधारमा खत देखेको थिईन । सानो कमिलाले टोकेको कुरा त शेयर गर्ने मान्छेले यति ठूलो चोट लाग्दा समेत मलाई केही भने जस्तो त लागेन । मेरो कसम खाएर भन्नु त यो खत कसरी बस्यो ?”

मैले भने पहिला टिका लगाई दिन त दे । अनि सबै कुरा भनौला । सप्तरंङ्गी टिका, सयपत्री र मखमलीको माला लगाई दिएँ । तिहारको भाई मसला, सानो उपहार र दक्षिणा दिँदै उसको खुट्टामा ढोगें । अनौठो मान्दै उनले भनिन् । ‘यसपाली त अचम्म भयो लौ ! दशैं टिका लगाउँदा समेत बुबा ममीको पाऊमा समेत शिर नझुकाउने मेरो दाई, आज घुँडा टेकेर मेरो खुट्टामा ढोग्दै छ त ?’

सिस्टम र सिष्टता एउटै आमाबाबुको सन्तान नभएता सम्बन्ध भने निकै नै घनिष्टता थियो । सिष्टताले रक्षा बन्धनका दिन सिस्टमका हातमा राखी बाँधेर पवित्र सम्बन्धलाई जोडेकी थिईन । सिस्टम, सिष्टताको लागि अभिभावक मात्र हैन, सल्लाहकार पनि हो । आफ्नी बैनी संधै राम्रो काम गरोस, कसैले उसलाई औला उठाएर बोल्न नपरोस र सबैबाट प्रशंसा पाओस भन्ने सिष्टमको चाहाना थियोे । सिष्टताले पनि हरेक कुरामा सिष्टमसंग राय लिने गर्थिन । एकले अर्कालाई खुब माया गर्थे उनीहरु । छिनमै रिसाउने छिन भरमै खुशी हुने उनीहरु दुबैको आदत थियो । जिन्दगीका सबै कुराहरु शेयर हुन्थ्यो । एउटालाई चोट पर्दा दुवै संगै रुने गर्थे । कहिले काहीँ झै भगडा गरेता पनि एकले अर्काको पिडालाई बुज्थे उनीहरु ।

तिहार नजिकिँदै थियो । भाइटिकाको दिनका लागि भनेर सिष्टमले बैनीका लागि केही कपडा किनिदिन्छ । सिष्टताले पनि दाजुका लागि केही कपडाहरु किनिदिन खोज्छिन, तर उसले इकार गर्छ । सिष्टताले ढाकाको टोपी देखाउँदै भन्छे । यो त किन्न सक्छु नि ? उसले मुन्टो हल्लाउँदै अँ, हुन्छ । टोपीका चुच्चाहरु मिलाउँदै सिष्टताले दाजुको शिरमा लगाई दिन्छे । बैनी रोजेको टोपी सिष्टमलाई ठिक्क भएको थियो । चिटिक्क सुहाएको पनि थियो । “आहा कति राम्रो !” पसल्नी साउनी पनि स्वर मिलाउँदै थिई । हिरो छ नि मेरो दाजु भन्दै सिष्टता दाजुका टाउको सुम्सुम्याउँदै थिईन । ‘दाई यस्पाली तिहारमा त तपाईको कपाल हाईलाईट गर्नु पर्छ है ? मेहेन्दी किनौ म लागाई दिन्छु ।’ फुलेको एउटा कपाल तान्दै सिष्टताले भनिन । “अलिअलि कपाल फुलेर के भो त, नहाल्ने मेहेन्दी सेहेन्दी ।” सिष्टमको यस्तो जवाफका कारण चित्त दुखाउँछिन । ‘मैले भनेको त के नै मान्नु हुन्छ र ?’

उमेरले ३० औं बसन्तको यात्रा गरिरहँदा सिष्टमको कपाल फुलेर सेताम्मे थियो । सिष्टतालाई दाजुको सेतो कपाललाई रंग्याउने रहर थियो । यही कुरामा उनीहरु बिच सामान्य वादविवाद भयो । दाजुबैनीको वादविवादलाई यहाँ चित्रण नगरौं । उनीहरु त्यहाँबाट फर्किए । बेलुका घर आएपछि सिष्टताले दिउसोको घटनासंग मेल खाने एउटा पोष्ट फेशबुकमा शेयर गरिन । जुन पोष्टले सिष्टमलाई बैनीले उसैलाई भनेको जस्तो आभाष हुन्छ । उसले पनि त्यस्तै खालको कमेन्ट गर्छ । सिष्टतालाई दाजुको पछिल्ला ब्यवहारले निकै चित्त दुख्छ । तिहारको केही दिन अघि सिष्टताको मामाले फोन गर्छन र भन्छन । ‘भान्जी यस्पाली तिहारमा म पनि तिम्रो गाँउ जाने हो ममीलाई भन्नु मामा उतै आउनु हुन्छ भनेर । म लक्ष्मीपूजाको दिन यहाँबाट बिहान चिया खाएर आँउछु । तिमी त्यहाँ खाना बनाई राख । देउरालीको मिलन मामा पनि आउनु हुन्छ । त्यहीँ खाना खाएर संगै गाऊँ जाऔला । गाउँ नगएको धेरै भयो । यस्पाली धेरै रमाईलो गर्नु पर्छ ।’

मामा भान्जीको सल्लाह अनुसार लक्ष्मी पूजा दिन बिहानै सिष्टता मामासंगै गाँऊ जान्छिन । गाउँमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको हुन्छ । भाइटिकाको दिन विहान अबेरसम्म देउसीभैलो खेल्ने कार्यक्रम थियो । भाइलाई टिका लगाएर मामासंगै फर्किएर दाजुलाई पनि टिका लगाउने उसको सोच थियो । सोचे जस्तो वातावरण मिलेन । उनी त्यस दिन फर्किन सकिनन् ।

बैनीले धेरै कर गरेपछि सिष्टमले आफ्नो निधारको चोटको बारेमा बताउन थाल्छ ।
कुरा पोहोर साल तिहारको हो । भाइटिकाको दिन बिहानै फोन गर्दा तिमीले भनेकी थियौं । दाइ म आउँदिन है । मैले सोधेँ । किन ? कहाँ त्यसो भनेर हुन्छ त ? जस्तोसुकै भए पनि आऊनु भनेर कर गरे । त्यसपछि तिमीले भन्यौं । यसपाली टिका लगाऊन नमिल्ने भयो के, त्यही भएर । नाटक नगर खुरुक्क आउने भन्दा तिमीले हैरान भएर भन्यौं । ह्या तपाईं पनि लेडिज प्रोब्लम हो के बुज्नु न । तिमी नआउने बहाना बनाउँदै थियौं । मलाई राम्रोसंग याद थियो । दशैंको बेलामा ‘प्रियिड’ भएकै कारण तिमीले मेरो हातको टिका गुमाएकी थियौं । त्यती बेला भावुक हुँदै भनेकी थियौ, दाईको हातबाट दशैंको टिका लगाउन नपाएता पनि तिहारमा दाजुबैनी भएर खुब रमाईलो गर्नु पर्छ ।

तिमी आउँदिनौ भन्ने कुरामा मलाई अलिकति पनि विश्वास थिएन । घरमा सार्थकलाई टिका लगाएर आउँदा अलि ढिलै होला भन्ने मेरो अनुमान थियो । तिमी आँउछेऊ भन्नेमा पूर्ण विश्वस्त थिएँ त्यती बेला । त्यसैले टिकाको सबै सरसार्दम, खानेकुरा सबै ठिक पारेर तयारी अवस्थामा बैनीको प्रतिक्षामा बसेको थिएँ ।

दिन ढल्किदै गयो । साँझसम्म पनि तिमी नआएपछि मेरो मन छट्पटिन थाल्यो । आँखाहरू दोबाटोतिर टोलाऊन थाले । तिमीलाई फोन गरे । फोन ऊठेन । केही पछि दोहोर्याएर कल गरे । मोबाइल स्विच अफ थियो । आईपुग्नै लागेको भएर मलाई सरप्राइज दिन खोजेको होला भन्ने सोचेर कोठा भित्र छिरे । दियो बत्ती बालेर टिका लगाउने ठाउँ फेरी एकपटक सफा गरे । कोठा टिलिक्क पारेर सजाएको थिएँ । हुनत दिनभरी मेरो अरू काम नै के थियो र । त्यही बेला मोबाइलको घन्टी बज्यो । त्यो तिम्रो कल थियो । हत्तपत्त फोन उठाएर सोधें । कहाँ आईपुगेको ? तिमीले भन्यौं । “म त घरमै छु ।”

नजिस्कन म कुरिरहेको छु । यति भन्न नपाउँदै तिम्रो जवाफ आयो । अरे पागल झन मैले बिहानै भनेको हैन त म आउँदिन भनेर । फोन काटियो र लगतै म्यासेन्जरमा भिडियो कल आयो । वास्तवमै तिमी घरमै रहिछौ । ए हस् भनेर फोन काटेँ । एक्कासी मन भक्कानिन थाल्यो । छाती डुम्म फुल्यो । एक छिन अक्क न बक्क परे । सुत्ने बिचार गरेर बाहिर ढोका लगाऊन निस्केको थिएँ । त्यतीबेलासम्म पनि तिम्रो झझल्को छाडेको थिएन । ढोका चुकुल लगाएँ । जुन ढोका तिमी आउने आशा खुल्ला गरेको थिएँ, त्यही ढोका निराश हुँदै बन्द गर्न बिवस थिएँ म । एक्लोपनको महशुष भयो मलाई । त्यही बेला आफ्नो भाग्य धिक्कार्दै ढोकामा टाउको बजार्न पुगेछु । त्यही चोटको हो यो । जति बेला मेरो निधार खाली थियो ।