ब्रेन ट्युमर पीडितलाई संघीय सांसद आलेमगरको एक लाख सहयोग

0
Shares

विमल विष्ट,डोटी ।

डोटीबाट निर्वाचित संघीय सांसद प्रेमबहादुर आलेमगरले ब्रेन ट्युमर भएर शिक्षण अस्पताल महाराजगन्ज काठमाण्डौमा उपचार गराइ रहनु भएकी डोटीको बिडकेदार गाउँपालिका–१ रिसडीकी २३ बर्षीया निर्मला मन्नी तथा उहाँका भाइ १८ वर्षीय भाइ डबल मन्नीको उपचारका लागि रु एकलाख आर्थिक सहयोग गर्नु भएको छ ।

छोरा छोरी दुबै जनालाई ब्रेन ट्युमर भएपछि उपचारका लागि कैलालीमा रहेको आफ्नो जग्गा जमिन सबै बेचेर मन्नीको परिवार अहिले सुकुम्बासी सहर भएको छ । उपचारका लागि आर्थिक समस्या भएको जानकारी पाएपछि सांसद आलेमगरले अस्पतालमै गएर बिरामीका आमा कल्पना मन्नीलाई आफ्नो व्यक्तिगत तर्फबाट रु एकलाख रकम प्रदान गर्नु भएको उहाँका स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

ब्रेन ट्युमर भएकी निर्मलाको स्वास्थ्य अवस्था निकै गम्भिर रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् । उहाँ बिगत तीन वर्षदेखि ब्रेन ट्युमरको उपचार गराइ रहनु भएको छ । निर्मलासँगै उहाँका १८ वर्षीय भाइ डबल मन्नी पनि ब्रेन् ट्युमरकै कारण उक्त अस्पतालमै भर्ना भएर उपचार गराइ रहनुु भएको आमा कल्पना मन्नीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छोरा र छोरी ब्रेन् ट्युमरले अस्पतालमा भर्ना गराएकी छु, आयस्रोत केहीपनि छैन, सांसद ज्युले एक लाख दिनुभयो सारै खुसि छु, मेरो जस्तो दुःख कसैलाइ पनि नपरोस ।”मृगौला रोग (मृगौला क्यान्सर) ले ग्रसित हुँनु भएका उनीहरुका बुवा लक्ष्मण मन्नीको गएको वर्ष असोज १४ गते मृत्यु भएपछि छोरा छोरीको उपचारका लागि झनै समस्या उत्पन्न भएको नेकपाका नेता तथा नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठन केन्द्रिय सचिवालय सदस्य माधब रोस्याराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बुवाको मृगौला क्यान्सले मृत्यु भयो, छोरा छोरी बिरामी परे सांसद आलेमगरले केही सहयोग गरेपछि अहिले उपचार हुँदैछ, उपचारमा अझै धेरै रकम लाग्ने भएपछि उक्त परिवार निकै पीडामा रहेको छ ।” बुवाको मृगौला उपचारका लागि पनि सांसद आलेमगरले रु ७५ हजार उपचार सहयोग गर्नु भएको छोरी निर्मलाले जानकारी दिनुभयो ।

ब्रेन् ट्युमरकै कारण छोरी निर्मलाले अहिले दुबै आखाँ नदेख्ने (आखाँको ज्योती गुमाएको) भएकी आमा कल्पना मन्नीले जानकारी दिनुभयो । ब्रेन ट्युमर भएर अस्पतालमा भर्ना भएका आफ्ना छोरा छोरीलाई उपचारमा सहयोग गरी बचाइदिन आमा कल्पानले सबैमा आग्रह गर्नु भएको छ । उपचार गरेपनि ब्रेन ट्युमर पटक पटक पुनः बल्झि रहने गरेका कारण झनै समस्या हुँदै आएको बताइएको छ ।

अस्पतालमा छोरा छोरीसँगै भर्ना गर्ने पैसा नभएका कारण छोरा डबललाई अस्पताल नजिकै रहेको होटेलको कोठा तथा छोरीलाई अस्पतालको बेड न. ५२० मा भर्ना गराएको आमा कल्पनाले रुदै दुःखेसो पोख्नु भयो । उहाँले भन्नुभयो, “छोरा छोरीसँगै अस्पाल भर्ना गर्न पैसा छैन, पैसा नहुँदा छोरालाई होटल र छोरीलाई अस्पतालमा राखेको छु, आफ्नो भन्नु कोही भएन, कसलाई सुनाउ मेरो पीडा ।”

ब्रेन ट्युमर भएकी छोरी स्नातकतह अध्ययनरत हुन भने छोरा स्नातकको तयारी गरिरहेका थिए । संघीय सांसद आलेमगरले डोटीबाट उपचारका लागि काठमाण्डौ जाने बिभिन्न रोगका बिरामीलाई अस्पतालमै गएर पटक पटक आर्थिक सहयोग गर्दै आउनु भएको छ । सांसद आलेमगरको सहयोगले कतिपय बिरामी आफ्नो उपचार गरी बच्न सफल भएको स्थानीयबासीहरु बताउछन् ।