चिलगाडी बन्दै


सञ्चारकर्मी रघुनाथ सापकोटाले आप्mनो होम प्रोडक्सन सेलिब्रेटी नेपालको ब्यानरमा चिलगाडी नामक फिल्म निर्माण गर्ने भएका छन्।
उनको यो फिल्म जनकदीप पराजुलीले निर्देशन गर्ने छन् भने नाजिर हुसेन अनुबन्धित भएका छन्। फिल्मका लागि संगीतकार कालीप्रसाद बास्कोटा अनुबन्ध भएका छन्। पारी त्यो डाँडामा, निर जहिले रिसाउने, साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार बास्कोटाले मेहनत गरेर उत्कृस्ट गीत बनाउने निर्माण टिमले विश्वास लिएको छ। उनका पहिलेका गीत–संगीत जस्तै चिलगाडीको गीतले पनि दर्शक स्रोताको माया पाउने आशा निर्माण टिमको रहेको छ।
फिल्ममा नाजिर हुसेनको अपोजिट नायिकाका लागि रोल सुहाउने अभिनेत्रीको खोजी कार्य भइरहेको निर्माण टिमले जानकारी गराएको छ। सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने चिलगाडीले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष सन्देशसमेत बोक्ने निर्देशक पराजुलीले बताए। फिल्मले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्ने दाबी उनको छ। फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सागर प्रधानले छायांकन गर्ने फिल्मका अन्य कलाकार तथा प्राविधिकहरु फाइनल हुन बाँकी छ। फागुनमा सुटिङ प्mलोरमा जाने तयारीमा रहेको फिल्म २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।