त्रिविको परीक्षा

0
Shares

त्रिभुवन विश्वविद्यालयले पुस महिनाभित्र सबै विद्यार्थीको रोकिएको परीक्षा लिने निर्णय गरेपछि विद्यार्थी उत्साहित भएका छन् । कोभिड–१९ को कारण ८ महिनादेखि स्थगित परीक्षा मंसिर चौथौ साताबाट पुससम्म सकिनेगरी लिने निर्णय गरेपछि करिब ४ लाख विद्यार्थीले राहत पाउने भएका छन् । त्रिविले चालेको यो कदमप्रति सबै विद्यार्थी खुसी छन् । अझ घर पायक परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएपछि विद्यार्थीलाई थप सहजता महसुस भएको छ ।

त्रिविले कोरोनाको कारण घरमै रहेका विद्याथीलाई स्थानीय तहमार्फत आवेदन फाराम भरेर नजिकको केन्द्रबाट परीक्षा लिनसक्ने व्यवस्था गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले गरेको निर्णयअनुसार भौतिक उपस्थितिमै परीक्षा सम्पन्न हुनेछ । सबैभन्दा जेठो र धेरै विद्याथी अध्ययनरत विश्वविद्यालय त्रिविमा वैकल्पिक विधिबाट परीक्षा लिन सम्भव नभएको कारण जनाउँदै भौतिक उपस्थितिलाई अनिवार्य बनाइएको छ ।

तर प्रश्नपत्र कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको छ । कानुन, शिक्षा, व्यवस्थापन, मानविकी र विज्ञान तथा प्रविधि संकायका अधिकांश तहको परीक्षा भएको छैन । पहिलो चरणमा अन्तिम वर्ष र अन्तिम सेमेष्टरको परीक्षा लिनेगरी तालिका सार्वजनिक गरिसकिएको छ । पहिलो चरणको परीक्षा मंसिर २८ गतेबाट शुरु हुनेछ । त्यसलगत्तै बाँकी सबै संकायको परीक्षा सञ्चालन गर्ने त्रिविको भनाइ छ । पुस महिनाभर परीक्षा सम्पन्न गरी पढाइलाई निरन्तरता दिने तयारी त्रिविले गरेको छ ।

अन्य विश्वविद्यालयले परीक्षा सम्पन्न गरिसकेको अवस्थामा त्रिविले परीक्षा लिनै नसक्दा आलोचना बढेको थियो । विद्यार्थीले समेत दबाब दिएपछि परीक्षाको कार्यतालिका सार्वजनिक गरेको थियो । परीक्षा हुने भएपछि विद्यार्थीले तयारी थालेका छन् । तर परीक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय चुनौतीपूर्ण देखिएको छ । फरक क्याम्पसका विद्यार्थीले घर पायक केन्द्रबाट परीक्षा दिने भएपछि उत्तरपुस्तिका परीक्षणमा समस्या देखिने सम्भावना उत्तिकै छ । एउटै क्याम्पसका विद्यार्थीका फरक–फरक स्थानमा उत्तरपुस्तिका परीक्षण हुने भएपछि केही समस्या देखिने प्रष्ट छ ।

त्रिवि रजिष्ट्रार कार्यालयले उच्चतम प्रविधि प्रयोग गरेर परीक्षा लिने र प्रश्नपत्र परीक्षण गरी परीक्षाफल प्रकाशित गर्ने बताउँदै आएको छ । त्रिविले एक महिनाभित्र स्थगित सबै संकायको परीक्षा सम्पन्न गर्ने भएपछि परीक्षा सम्बन्धी सबै समस्या हल हुने देखिएको छ । त्रिविको कार्यकारीको बैठकको यो निर्णयलाई सबैले स्वागत गर्नैपर्छ । थोरै विद्यार्थी भएका विश्वविद्यालयले परीक्षा सम्पन्न गर्नु महत्वको विषय होइन । एक महिनाभित्र चार लाख विद्यार्थीको परीक्षा सक्नु महत्वपूर्ण विषय हो । माघमा परीक्षा लिन असम्भव भएकोले एक महिनामा परीक्षा सम्पन्न गर्नु त्रिविको वाध्यता होला । तैपनि कोभिड महामारी कायम रहेको अवस्थामा परीक्षा लिने त्रिविको सही कदम हो ।

परीक्षा त त्रिविले गर्ने नै भयो, तर शैक्षिक स्तरलाई मर्यादित बनाउने गरी यसलाई सम्पन्न गर्न सकिने हो वा होइन भन्ने चुनौती बाँकी छ जसका लागि विद्यार्थी र अभिभावकहरुको पनि उत्तिकै भूमिका रहन्छ । त्रिविको यस सही कदमका लागि सबैतिरबाट सघाउनु आवश्यक छ । परीक्षालाई मर्यादित बनाउन नचाहनेहरुका लागि कोरोना निहुँ बन्नुहुन्न ।