धर्म र सीमामा अल्झिएको पारस्परिक टकराव

0
Shares

  • केशर श्रेष्ठ

विवादको शुरुवात सार्ली हब्डोले प्रकाशित गरेको इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको कार्टुनबाट भएको हो । केही वर्षअघि उक्त कार्टुन प्रकाशित गरेकोमा फ्रान्सको राजधानी पेरिसस्थित सार्ली हेब्डोको कार्यालयमा सन् २०१५ सेप्टेम्बरमा केही इस्लामिक कट्टरपन्थीले आक्रमण गरी १२ जनाको हत्यासमेत गरेका थिए । उक्त हत्याकाण्डको सुनवाइ शुरु भएको अवसर पारी हालै मात्र सार्ली हेब्डोले उक्त कार्टुन पुनः छाप्यो, जसले फ्रान्सलाई फेरि एकपटक हिंसाको चपेटामा पु¥याएको छ । यस घटनाले फ्रान्सलाई विभाजनको संघारमा पु¥याएको छ, इस्लाम भर्सेज इसाई । तर फ्रान्स यसलाई इस्लाम भर्सेज अभिव्यक्तिको स्वतन्त्रताको रुप दिने प्रयासमा छ । यद्यपि पछिल्ला घटनाक्रमलाई लिएर फ्रान्सविरुद्ध प्रायः सबै इस्लामिक राष्ट्र खनिएका छन् ।

इस्लाममा पैगम्बर मोहम्मद त्यस्ता व्यक्तित्व हुन् जसको कुनै प्रकारको चित्र वा मूर्तिमार्फत चित्रण हुनु इस्लाम र पैगम्बरको ठूलो अपमान हो । पैगम्बर मोहम्मदकै यो आदेशलाई मुसलमानहरु अत्यन्त कडाइका साथ मान्दै आइरहेका छन् र अन्य कुनै गैरइस्लामिक समुदायबाट यस प्रकारको कृत्य भए पनि त्यसलाई अक्षम्य अपराधकै रुपमा लिने गरिन्छ । पैगम्बर मोहम्मदको अपमान गर्ने अपराधीलाई उचित दण्ड दिनु कुनै पनि मुसलमानको प्रथम दायित्व भएको मानिन्छ, इस्लाममा । तर सार्ली हेब्डोले मुस्लिमहरुको अगाध आस्थालाई नै चुनौती दिँदै पैगम्बर मोहम्मदको कार्टुन प्रकाशित गरे र यसलाई उनले अभिव्यक्तिको स्वतन्त्रतासँग जोडे ।

ढुंगेयुगबाट शुरु भएको मानव सभ्यताको विस्तार लगभग ३० हजार वर्ष पुरानो मानिन्छ । यो अवधिमा सृष्टिकै सबैभन्दा बुद्धिमान तथा विवेकशील भनिएको प्राणी मानवले गरेको विकास साँच्चिकै अद्वितीय रहेकोमा कुनै द्विविधा छैन । यद्यपि यो अवधिको अधिकांश समय मानवले युद्ध र संघर्षमै बिताए । करिब ३ लाखभन्दा धेरै युद्ध लडे । भनिन्छ, करिब ३ सय वर्ष मात्रै त्यस्तो रह्यो, जसमा युद्ध भएन । यो अवधिलाई सम्भवतः शान्तिपूर्ण भन्न सकिएला । यद्यपि त्यो अवधिमा मान्छेले युद्ध नै नगरे पनि युद्धको तयारीमा बिताएको समाजशास्त्रीहरुको ठहर छ । युद्ध र द्वन्द्वको यो स्वभावमाथि मानवले विजय प्राप्त गर्न सकेको छैन ।

सञ्चार र शिक्षाको प्रचूर विकासका बाबजुद युद्ध र द्वन्द्वजस्ता विकृति निषेध गर्न नसक्नु मानव सभ्यताकै लागि सबैभन्दा ठूलो खतरा बनेको अनुभव नगरेको होइन । यद्यपि युद्धरहित अवस्थामा पुग्न त्यसको कारण र समाधान पहिल्याउने विषय नै ठूलो तगारो बनेको देखिन्छ । किनभने त्यहाँ आस्था र विश्वासको कुरा हुन्छ, कुनै विज्ञान वा तथ्यपरक तर्क–विश्लेषण होइन ।

विगतमा युद्धका अनेक कारण हुने गरे पनि पछिल्लो समय विश्वमा वर्चश्वको होड, राष्ट्र पहिचानमा सीमा विवाद र धर्म नै यसका प्रमुख कारण रहेको देखिन्छ ।

पुरातन मान्यता विपरीत धर्मका थुप्रै परिभाषाहरु बनिसकेका छन् । यद्यपि आस्था र विश्वासको जगमा उभिएको धर्म नै अहिलेको कथित आधुनिक समाजको सबैभन्दा ठूलो विवादको कारण बनिरहेको छ । सबै धर्मले फरक–फरक तरिकाले ईश्वरको परिकल्पना गरेको छ । यी परिकल्पना भनेको ब्रह्माण्डका रहस्य अनि जीव अस्तित्व अर्थात् सृष्टिका अनुत्तरित प्रश्नका अचुक जवाफका लागि निहित हुन् र कथित समाधान पनि । सबै रहस्यको समाधानका खातिर मान्छेले नै धर्म र ईश्वरको सृष्टि गरेको हो भन्नु गलत होइन भन्ने लाग्छ ।

यद्यपि हरेक धर्ममा केही चुनिएका व्यक्तिले ईश्वरको प्रतिनिधित्व गर्दै धर्मको प्रवर्तक बनेको र आफैं ईश्वर प्रतिक भएर धर्म प्रादुर्भाव गरेको पाइन्छ । ईश्वरको रचना मानवले ग¥यो र त्यही ईश्वरबाट यो जगत् मात्र होइन सम्पूर्ण ब्रह्माण्ड रचना भएको मान्यता स्थापित भयो । फरक–फरक धर्मका फरक–फरक ईश्वरबाट फरक–फरक ढंगले यो ब्रह्माण्ड र धर्तीको रचना भएको विश्वासमा परिवर्तनको कुनै रेखासमेत खिच्न सकेको छैन ।

विश्वलाई अहिले विराट भन्न सक्ने अवस्था छैन । सञ्चार र प्रविधिको विकासले विश्वलाई एउटा सानो ग्राममा रुपान्तरण गरिसकेको अनुभव गर्न सकिन्छ । जुन बेला धर्महरु बने र फैलिए, अहिलेको अवस्था त्यो होइन । सम्भवतः औपचारिक शिक्षाको सवालमा धेरै हदसम्म विश्वमा एकरुपता आइसकेको छ । अहिले कुनै पनि विचार तथा नयाँ कुरा त्यही समयमा एकै पटक विश्वको कुनै पनि कुनामा पुग्ने पहँुच राखिसकेको छ । तर धर्म र ईश्वरको सवालमा यस्तो परिस्थितिको कल्पना गर्ने अवस्थै देखिएको छैन । न त नियम र कानुनमा आधारित, धर्म र ईश्वरविहीन विश्व व्यवस्था कायम गर्न सक्ने अवस्था नै बनेको छ ।

फरक–फरक धर्म र आस्थाका ठेकेदारहरु उनीहरुको आफ्नै मूल्य–मान्यतामा अलिकति पनि तल–माथि हुने कुनै पनि कुरामा सहमतिका लागि तयार देखिँदैनन् । यिनीहरुबाट कुनै ठूलो महासभाको आयोजनामार्फत धार्मिक एकीकरण अर्थात् साझा आस्था स्थापित होला भन्ने कल्पना नै गर्न सकिने अवस्था छैन । वास्तवमा आस्था र विश्वास यो कुनै तार्किक तथा प्रामाणिक कुरा पनि होइन । यसका लागि कुनै युक्तिसंगत तर्क र वैज्ञानिक कारण आवश्यक छैन । फेरि पनि विज्ञानले बनाएका अत्यन्त घातक हतियारभन्दा यो शक्तिशाली छ ।

धर्म त्यस्तो आस्था र विश्वास जड हो, जुन एकका लागि जतिसुकै महान् र अद्वितीय भए पनि त्यसले अर्कोलाई केही फरक पारेको हुँदैन । विश्वमा सबैभन्दा धेरै करिब २ अर्ब ४० करोड इसाई धर्मावलम्बी छन् । करिब ७ अर्ब ८० करोड जनसंख्या रहेको विश्वमा करिब साढे ५ अर्बभन्दा बढीले इसाई धर्मका ईश्वर जिससप्रति कुनै आस्था राख्दैनन् वा उनलाई चिन्दैनन् । त्यस्तै १ अर्ब ८० करोडको हाराहारीमा इस्लाम मान्ने मुस्लिम छन् । इस्लाम ईश्वरको अस्तित्वलाई मान्दैन तर अल्लाहलाई मान्छ । इस्लाम भन्छ, ईश्वर छैन तर अल्लाह छ ।

विश्वको ६ अर्बभन्दा बढी मानिसको अल्लाहप्रति कुनै चासो छैन वा उनीहरुलाई उनका बारेमा केही थाहै छैन । त्यसै गरी करिब १ अर्ब २० करोडको हाराहारीमा रहेको हिन्दूहरुको हिन्दू धर्ममा आराध्यदेव अर्थात् देवताहरुको पनि देवता, तीन नेत्रका मालिक महादेवलाई समेत पटक्कै नचिन्ने पनि करिब साढे ६ करोडको हाराहारीमा छन् । यसले उनीहरुलाई केही फरक पारेको पनि छैन ।

अलि फरक धर्मका रुपमा रहेको बौद्ध धर्म धरै वैज्ञानिक मानिन्छ । यसमा ईश्वरको परिकल्पना गरिएको पनि छैन । यसलाई एक प्रकारले ज्ञानमार्गका रुपमा चित्रण गरिएको पाइन्छ । यो मात्र एक धर्म हो, जुन फैलिनुमा कुनै तरबार होइन, सानो लठ्ठीको पनि प्रयोग भएको छैन । यो ज्ञानको प्रसारकै रुपमा फैलिएको देखिन्छ । बुद्ध आफैं पनि ज्ञान प्राप्तिकै अवस्था हो ।

यद्यपि यस धर्ममा अनुयायी हुनु नै बुद्ध हुनु भने होइन । करिब २६ सय वर्षको अवधिमा बुद्ध कुनै समाधान होइन भन्ने प्रमाणित भइसकेको छ । दोस्रो विश्वयुद्धमा बौद्ध देश कहलिएको जापानको बर्बरता, हालै म्यान्मारमा मुस्लिमहरुमाथि भएको अमानवीय अत्याचार र श्रीलंकामा मुस्लिमहरुप्रति बौद्धहरुको वैमनस्यता तथा क्लेशले बुद्ध पुर्ण होइन भन्ने देखाइसकेको छ ।

यस अर्थमा धार्मिक एकीकरणको विन्दु खोज्नु पनि असम्भवजस्तै हो । सबै धर्मका ठेकेदार उनीहरुकै धर्म र ईश्वर नै विश्वमा व्याप्त होन् भन्ने चाहना राख्छन् । अर्को गहन पक्ष भनेको धर्म परिवर्तन हो । यसले व्यक्तिको आस्था र विश्वाससँगै ईश्वर पनि परिवर्तन हुन्छ । तर भनिन्छ, उसलाई डर त रहन्छ, कतै त्याज्य ईश्वरबाट कुनै नराम्रो हुने हो कि ? धर्म भनेकै त्रासको अर्को रुप त हो । एक बुद्ध–पुरुषले भनेका थिए– मानव स्वभाव अचम्मको छ । ऊ एउटा धर्म छोड्छ र अर्को धर्मको शरणमा जान्छ अर्थात् अर्को धर्मको शरणमा जान नै उसले पहिलेको धर्म त्याग्छ । ऊ धर्मविहीन अवस्थामा बस्नै सक्दैन । जसले आफुलाई नास्तिक बताउँछ उसले पनि नास्तिकतालाई नै धर्म बनाइसकेको हुन्छ, नास्तिक धर्म ।

धर्म अनि सीमाविहीन समाज र भूगोलको कल्पना नगर्ने हो भने युद्धरहित विश्वको कल्पना पनि असम्भव नै हुन्छ । पैगम्बर मोहम्मदको कार्टुन, राममन्दिर, टर्कीको हाजिया सोफिया चर्च, मस्जिद, भारतको हिन्दू–मुस्लिम, म्यान्मारको रोहिंग्या संकटलगायत हजारौं त्यस्ता मुद्दा छन् जसको समाधान कठिन मात्रै होइन असम्भवजस्तै हुन्छ । जहाँ धर्म एवं सीमा विवाद छ, त्यहाँ युद्ध अवश्यम्भावी छ ।

धर्म र सीमा मानवजीवनमा जति कृत्रिम लाग्छ, त्यति नै पहिचानका रुपमा जोडिएको पनि देखिन्छ । धर्म परिवर्तन हुने गर्छ । त्यस्तै सीमा पनि हरेक ३० देखि ५० वर्षमा हेरफेर हुने सम्भावना रहन्छ । यसले धर्म र सीमामा निहित पहिचान निरर्थक हो भन्ने पुष्टि त गर्छ तर मानवस्वभावले नयाँ धर्म र सीमाको पहिचान अंगिकार गरिसकेको हुन्छ । यस अर्थमा युद्ध अन्तिम सत्य हो र यसको तयारी निर्विकल्प हो ।