झापामा देउसी-भैलो खेल्न नपाइने, छठ पूजा घर आँगनमा मनाउन आग्रह

0
Shares

न्युज अफ नेपाल,भद्रपुर ।

तिहारमा खेल्ने सामूहिक देउसी–भैलो र नाचगानमाथि जिल्ला प्रशासन कार्यालय झापाले रोक लगाउने निर्णय गरेको छ । प्रशासनले छठ पर्व आ–आफ्नो घर आँगनमा मनाउन जिल्लावासी समक्ष अनुरोध समेत गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको संयोजकत्वमा बसेको बैठकले तिहार तथा छठ पर्वलाई लक्षित गरी तीन बुँदे निर्णय गरी यस्तो जनाएको हो । कोभिड – १९ को सङ्क्रमणबाट बच्न र बचाउन प्रशासनले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै शुभ दिपावली अर्थात् तिहारमा देउसी भैलो, नाचगान लगायतका भिडभाड हुने कुनै पनि कार्य नगर्ने र नगराउने, जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै तिहारमा आतिशवाजी, भुइचम्पा पटाका पड्काउने लगायतका कार्यहरू नगर्न नगराउन सबैमा अनुरोध गर्ने, बारुदजन्य पटाका लगायतको प्रज्वलनशील पदार्थ पड्काउँदा आगलागी लगायतका दुर्घटना भई ठूलो जनधनको क्षति हुन सक्ने भएको हुँदा त्यस्ता वस्तुहरूको आयात तथा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाउने र त्यस्ता कार्य गर्ने व्यक्ति तथा समूहलाई कानुन बमोजिम कारबाही गर्ने र कोभिड संक्रमणको दरलाई मध्यनजर गर्दै यस वर्षको छठ पर्व आ–आफ्नै घर आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन सबैमा अनुरोध गर्ने, छठ पूजाको लागि खोला, ताल पोखरी, नदीमा गई स्नान गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा नदी, खोला, पोखरी तालमा गई पण्डाल बनाई पूजाआजा गर्ने कार्य यस वर्ष नगर्ने नगराउने निर्णय भएको प्रजिअ तिमिल्सिनाले जानकारी दिनुभयो ।