एसएसपी प्रदिप श्रेष्ठको कमाउ धन्दा सुरु

0
Shares

विमल विष्ट,डोटी ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रदिपकुमार श्रेष्ठको कमाउन धन्दा बाहिरिएको छ । उहाँले बिभिन्न प्रयोजनका नाममा अफिसदेखि भर्ना भएका नयाँ सिपाहीबाट रकम असुल्ने गरेको प्रमाण बाहिरिएको छ । पटक पटक प्रहरी नेतृत्वको दरिलो साथ पाएका एसएसपी श्रेष्ठले सुदूरपश्चिम प्रदेश तालिम केन्द्रमा कमाउ धन्दा जारी राखेका छन् ।

अघिल्लो पटक कार्वाही हुनै लाग्दा तत्कालिन आईजीपीले जोगाएका उहाँलाई यो पटक आफ्नै व्याजमेट आईजीपी भएकाले बढी साथ पाउने आशा जगाएको छ । जहाँ बस्यो त्यहि आर्थिक रुपमा गनाएका प्रदिप स्याङजामा हुँदा एसएससी परिक्षाको पैसा खाएर कार्वाहीमा परेका थिए भने धनकुटा हुँदा यौन व्यवसायीको पैसा खाएर कार्वाहीकालागि तानिएको आरोप लागेको छ ।

अहिले उहाँले आफ्नो सरुवा हुन लागेको भन्दै नयाँ तालिमे प्रहरीबाट प्रारम्भिक समान किन्ने भनेर प्रतिव्यक्ति रु २० हजार रुपैंया उठाउन लगाएका छन् । अघिल्लो पटक पनि उहाँले कमसल समान दिएर मोटो रकम उठाएको आरोप अझै सेलाएको छैन् । तालिम केन्द्रमा उहाँले बिभिन्न काममा कमिसन माग्ने गरेको आरोप पटक पटक लाग्ने गरेको भएपनि उहाँका व्यजमेन्ट कोही आइजीपी तथा कोही प्रहरी मुख्यालयको उच्च तहमा भएका कारण जोगिदै आएको प्रहरी अधिकारीहरु बताउछन् ।

तालिम केन्द्र स्रोतका अनुसार अहिले पनि तालिमे सिपहीबाट मोटो रकम जम्मा गरेर गुणस्तरिय हिन समान दिएर कमिसन उठाउन थालेको आरोप लागेको छ । त्यसैकालागि उहाँले मनोज भारती नामका व्यापारीसँग कमिसन दिने गरि कुरो मिलाएको श्रोतको दाबी छ । दिपायल पिपल्लामा रहेको चाद ट्रेर्डसमा पनि कमिसन लिएर एसएसपी श्रेष्ठले नयाँ भर्ना भएका सिपाहीका लागि आवश्यक पर्ने सामग्री खरिद गर्न थालेको श्रोतको दाबी छ ।

तालिमेका लागि कट्टु, गञ्जि, मोजा, जुत्ता, ट्रयाकसुट, टाबेल लगायतका समान किन्न भनेर तालीमेबाट अघिल्लो वर्षपनि बढी रकम उठाएर गुणस्तरियहिन समान दिइएको आरोप लागेको थियो । जसले गर्दा तालिमेहरुले सो समान दोहरिएर किन्नु परेको तालिम केन्द्र श्रोतको दाबी छ । सुदूरपश्चिम प्रदेश तालिम केन्द्रमा कुल ६ सय १२ जना नयाँ तालिमे भर्ना भएकोमा प्रतिव्यक्ति २० हजारका दरले उठाउदा सवा करोड रकम उठ्ने र त्यसमा आधा रकममै समान खरिद गरेर बाँकि रकम आफैले लिने दाउमा प्रदिप श्रेष्ठ लागेको श्रोतको दाबी छ ।

त्यसैगरी उहाँले दिपायलमै रहेको अम्मर पुस्तक भण्डारबाट वर्षमा करिब १० देखि १५ हजारको अफिसका लागि स्टेसनरीका सर सामान लगेपनि पछि उक्त पसलबाट ५० हजारको बिल मागेर बाँकी रकम खाएको श्रोतको दाबी छ । आर्थिक मामिलामा गनायका एसएसपी श्रेष्ठ अहिले तालिम केन्द्रबाट आफ्नो सरुवा हुँन लागेको भन्दै नयाँ तालिमे जवानबाट रकम हत्याउने तयारीमा छन् ।

आर्थिक हिनामिना गर्ने गरेको तथा तालिमे जवानबाट २० हजार पैसा माग गरेको विषयमा सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तम सुबेदीलाई जानकारी भएपनि श्रेष्ठ आइजीपीको नजिक भएका कारण केही सोधपुछ नगर्ने गरेको श्रोतको दाबी छ । एसएसपी श्रेष्ठले आफु आइजीपीको व्याजमेन्ट भएकाले कोही कसैले केही गर्न नसक्ने भन्दै मनपरि गर्ने गरेको श्रोतको दाबी छ ।

उता कमिसन लिएको आरोप लागेका एसएसपी प्रदिपकुमार श्रेष्ठले आफुले कमिसन नलिएको दाबी गर्दै आउनु भएको छ । नेपाल प्रहरीका प्रबक्ता तथा एसएसपी कुवेर कडायतले कमिसनका लागि कमसल सामग्री खरिद गरेको तथा अन्य रकम माग गरेको भन्ने प्रमाण भेटिए एसएसपी श्रेष्ठलाई बिभागिय कारवाहि हुँने बताउनुभयो । उहाँले भन्नुभयो, “कमिसन खाएको वा रकम माग गरेको विषयमा प्रमाण जुटे एसएसपीलाई बिभागिय कारवाहि हुँन्छ, ढुक्क हुनुस गलत गर्ने नेपाल प्रहरीको जतिसुक्कै उच्च तहको व्यक्ति भएपनि छोडिन्न ।”