अवसर पाए छोरीले देश चिनाउँछन् : राणा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
सञ्चारिका समूहको आयोजनामा ‘लैंगिक पहिचानसहितको छनोट’ विषयमाथि बुधबारदेखि छलफल शुरु भएको छ । तीन दिनसम्म चल्ने भर्चुअल छलफलको पहिलो दिन सिड कमिटीका नवनिर्वाचित सदस्य तथा सञ्चारिका समूहका संस्थापक अध्यक्ष बन्दना राणाले आफ्ना २० वर्ष पुरानो अनुभव बाँड्दै कार्यक्रमको शुरुआत गर्नुभयो ।
बागमती प्रदेशमा रहेका सञ्चारकर्मीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा लैंगिक विभेदलाई सञ्चारमाध्यमले न्यूनीकरणको भूमिका कसरी खेल्ने भन्ने विषयमा केन्द्रित रहेको थियो । छलफल कार्यक्रम सिडका नवनिर्वाचित सदस्यको स्वागत र बधाईबाट शुरु गरिएको थियो ।
सोही अवसरमा राणाले नेपाली महिला, सञ्चारकर्मी, अधिकारकर्मी भएर नेपाललाई चिनाउन पाएकोमा गौरव लागेको बताउनुभयो । उहाँले सबैको माया, सद्भावकै कारण मैले सिडमा निर्वाचन जित्न सम्भव भएको बताउनुभयो । उहाँले सिड कमिटीको चुनाव सम्पन्नपछि आफ्नो पहिलो कार्यक्रम सञ्चारिका समूहमार्फत सञ्चारकर्मीसँग भएकोमा खुसी व्यक्त गर्नुभयो ।
‘२० वर्षअघि महिला हकहितका विषयमा अमेरिकाको न्युयोर्कमा आयोजित कार्यक्रममा भाग लिँदा यति परिपक्व थिइनँ, त्यसैले पहिलो प्रश्न आफूलाई नपरे हुन्थ्यो भन्ने सोच्दा सोच्दै पहिलो प्रश्न आफैलाई प¥यो, त्यो पनि फटाफट उत्तर दिनुपर्ने नियम थियो । प्रश्न महिलाका विषयमा १० वर्षपछि के देख्न चाहनुहुन्छ भन्ने थियो । त्यतिबेला मैले हरेक घरमा छोरी जन्मँदा खुसीयाली मनाएको हेर्न चाहन्छु भन्दा निकै प्रशंसा पाएको थिएँ । तर आज २० वर्षपछि फर्केर हेर्दा छोरी जन्मँदा खुसीयाली हैन, गर्भमै लिंग पहिचान गरेर छोरीको जन्मै पो नदिने सोचमा समाज डोहोरिएको देख्दा दुःख लागेको छ।’ उहाँले भन्नुभयो ।
राणाले यो अवस्थाको सुधारका लागि सञ्चार माध्यमले अहिले नै ध्यानाकर्षण नगराउने हो भने पछिल्लो २० वर्षमा पुरुषले बिहेवारी गर्न केटीसमेत नपाउने सुनिश्चित रहेको बताउनुभयो । यसले समाज र देशमा नै ठूलो आर्थिक र सामाजिकरुपमा क्षति पुग्छ भन्ने कुरालाई औंल्याएर छोरा र छोरीको समानताका विषयमा कलम चलाउने बेला आइसकेको विषयमा ध्यानाकर्षण गराउनुभयो । उहाँले छोरीले पनि अवसर पाए भने देश विदेशमा पुगेर पनि देशलाई चिनाउने महŒवपूर्ण काम गर्न सक्छन् भन्नुभयो ।
उहाँले लैंगिक विभेदकारी उखान टुक्कालाई समेत परिमार्जन गर्दै महिला र पुरुष समान अधिकारका भागिदार हुन् भन्ने विषयमा समाजको ध्यानाकर्षण गराउन जोड दिनुभयो ।
कार्यक्रममा काभ्रे पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, उपाध्यक्ष कमला पन्थी, हेटौंडा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं उपत्यकालगायतका पत्रकारहरुले आ–आफ्ना अनुभवलाई सार्वजनिक गर्नुभएको थियो ।