तिहारबारे नेवाः समुदायमा अन्योल

नेपाल संवत् नयाँ वर्षमा एकरुपता

0
Shares

सुनील महर्जन, काठमाडौं

गत वर्षझैं यस वर्ष पनि नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने दिनबारे अन्योल छाएको छ । तर, नेपाल संवत् ११४१ नयाँ वर्ष मनाउने विषयमा सबै सरोकारवालाको एकमत रहेको पाइएको छ ।

नेपाल भाषामा ‘स्व’ भनेको तीन र ‘ति’ भनेको तिथि अर्थात् तीन तिथिको समयमा मनाउने पर्व भएकाले स्वन्ति नखः भनिएको संस्कृतिविद्हरुको भनाइ रहेको छ । यसपटक लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा (भाइटीका) कात्तिक २९, ३० र मंसिर १ गते मनाउने कि कात्तिक ३०, मंसिर १ र २ गते भन्नेमा अन्योल उत्पन्न भएको हो ।

तिथिमितिअनुसार पर्व मनाउने विषयमा परम्परादेखि नेवाः समुदायमा दुईखाले विधि वा मतबाट प्रभावित रहेको पाइएको छ । जुन दिन वा तिथिमा सूर्योदय भयो, त्यही तिथिलाई दिनभर लागू भएको मान्यताअनुसार पर्व मनाउने एउटा विधि र अर्को मत भनेको तिथि सकिन साथ बिहान, बेलुका जुनसुकै समयमा सोहीअनुसार पर्व मनाउने । कुन विधिलाई कसले मान्ने भन्ने मुख्य प्रश्न रहेको यस विषयमा सञ्चारमाध्यममा निरन्तर बहस चलाइराख्नुभएका सञ्चारकर्मी श्रीकृष्ण महर्जनले बताउनुभयो ।

परापूर्वकालदेखि नै काठमाडौंमा तिथिमितिको सवालमा जनबहालका वज्राचार्य गुरुजुले भनेअनुसार मनाउँदै आएका छन् । त्यसै गरी भक्तपुरमा भक्तपुरको तलेजु पुजारी र ललितपुरमा क्वाबहाः अर्थात् हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथिअनुसार पर्व मनाउँदै आएका छन् । उपत्यकाका तीनवटै केन्द्रले फरक फरक दिनमा स्वन्ति नखः मनाउने भएपछि जनस्तरमा यसखाले अन्योल सिर्जना भएको हो ।

जनबहालका पुजारी नीलकाजी शाक्यले सूर्योदय जुन तिथिमा पर्छ त्यही तिथिलाई दिनभरि मान्ने चलन भएअनुसार आफूहरुले कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म तीन दिन लगातार रुपमा लक्ष्मीपूजा, म्हपूजा र भाइटीका गर्नुपर्ने बताउनुभयो ।

काठमाडौंको जनबहाल सेतो मच्छिन्द्रनाथको धार्मिक पूजामा गणना गरिने तिथि र परम्परालाई आधार मानेर विशेषतः काठमाडौं केन्द्रीय विभिन्न जातीय समाज, खलः पुच र संघसंस्था, काठमाडौंका संस्कृतिविद्, ज्योतिषी, वज्राचार्य गुरुजुहरुको कात्तिक ३०, मंसिर १ र २ गते मनाउन आग्रह गरेको छ । बिहान सूर्योदय हँुदा जुन तिथि परेको हो सोहीअनुसार पर्व मनाउने परम्परा रहेको उल्लेख गर्दै संंस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले भन्नुभयो– ‘बिहान चतुर्दशी भनेर कुकुर पूजा गर्ने र बेलुका औंसी परेको भन्दै लक्ष्मी पूजा गर्नु उचित हँुदैन । बिहान चतुर्दशी र बेलुका औंसी परेकोे रातलाई कालरात्रिलाई भनिन्छ । कालरात्रिमा लक्ष्मीलाई पूजा गरिँदैन ।’

भक्तपुर र ललितपुरमा क्रमशः तलेजु र हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथि र सोही आधारमा प्रचलित परम्पराअनुसार कात्तिक २९, कात्तिक ३० र मंसिर १ गते स्वन्ति नखः मनाउनेछन् । ललितपुरका १९ वटा जातीय समाज र नेपाल भाषा मंका खलः ललितपुरका पदाधिकारीसहित ज्योतिषी, संस्कृतिविद्, वज्राचार्य गुरुजुको बसेको संयुक्त बैठकले कात्तिक २९ गते लक्ष्मी पूजा, कात्तिक ३० गते म्हः पूजा र मंसिर १ गते किजा पूजा गर्ने निर्णय गरेको छ ।

हिरण्यवर्ण महाविहार क्वाबहाः परम्परागत पात्रोलाई आधार मान्दै बैठकले सो निर्णय गरेको बताइएको छ । कात्तिक २९ गते शनिबार दिउँसो १ बजेदेखि औंसी परेको उल्लेख गर्दै सोही दिन लक्ष्मी पूजा गर्ने भनेको छ ।

त्यसै गरी कात्तिक ३० गते आइतबार बिहान ११ बजेर २८ मिनेटपछि प्रतिपदा तिथि परेकाले म्हःपूजा र मंसिर १ गते सोमबार बिहान ९ बजेर १३ मिनेटपछि द्वितीया परेको जनाउँदै किजापूजा (भाइटीका)ं गर्ने बैठकले निर्णय गरेको हो ।

सबै जातीय समाज सम्मिलित न्हूदँ समारोह समिति ललितपुरले विगतको परम्परा, प्रमाण र शास्त्रीय मतअनुसार स्वन्ति नखः मनाउन आग्रह गरिएको विज्ञप्तिमा भनिएको छ ।

स्वन्ति नखः मनाउने तिथि विवाद भए पनि नेपाल संवत् ११४१ नयाँ वर्ष मंसिर १ गते सोमबार मनाउने विषयमा सबै सरोकारवालाको एकमत रहेको छ । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू, न्हूदँ समारोह समिति–११४१, न्हूदँ समारोह समिति ललितपुर, नेपाल भाषा मंका खलः काठमाडौं र ललितपुर र राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका पदाधिकारीले सोही दिन नेपाल संवत् नयाँ वर्ष मनाउने भनी संयुक्त विज्ञप्ति निकालेका छन् ।

तिथिमिति र आ–आफ्ना स्थान विशेष, कुलधर्म, परम्पराअनुसार स्वन्ति नखः मनाउने तिथि समान नहुने तथ्यलाई स्वीकार गर्दै नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले भन्नुभयो– ‘फरकफरक मितिलाई पर्व मनाउनेलाई नेवाः समुदायको विशेषताको रुपमा स्वीकार गर्नुपर्दछ । यस सम्बन्धमा कुनै पनि संंंघसंस्था र पक्षले विवाद ल्याउने कार्य गर्नुहुन्न ।’

यसैबीच काठमाडौं नेवाःसमुदायले मंसिर २ गते मंगलबार किजा पूजा (भाइटीका)गर्ने निर्णयलाई मध्यनजर गर्दै सरकारले सोही दिन सार्वजनिक बिदा दिएको छ।मन्त्रिपरिषद्को गत सोमबारको निर्णयअनुसार किजा पूजाको अवसरमा मंसिर २ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरुसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

व्यवसायी एवं समाजसेवी रमेश महर्जन अध्यक्ष रहनुभएको न्हूदँ समारोह समितिले शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसमक्ष सोही दिन सार्वजनिक बिदा दिन माग गरेको थियो । सार्वजनिक बिदा दिन काठमाडौंका संघीय र प्रदेश सांसदहरुले समेत प्रधानमन्त्री केपी ओलीसमक्ष आग्रह गर्नुभएको बुझिएको छ ।