कौशिक नवराज
नेपालमा क्लिनफिड कसरी कार्यान्वयन हुन्छ? यसमा विभिन्न निकायले खेल्ने भूमिकासहित क्लिनफिड कार्यान्वयनको प्राविधिक पाटोबारे चर्चा गरौँ ।
वर्तमान परिदृश्य ः
साबिकमा विदेशी टेलिभिजन च्यानलहरुले नेपालमा च्यानल प्रसारणको अनुमतिपत्र लिनुपरेमा च्यानलको प्रसारण संस्था रहेको देशको प्रसारण संस्थाले दिएको अनुमतिपत्रको प्रतिलिपि लिएर साबिक मन्त्रालय र हाल विभागमा निवेदन दिएमा सजिलै डाउनलिंक लाइसेन्स पाउने व्यवस्था रहेको थियो भने पछिल्लो समय नेपालमा प्रसारण हुने विदेशी च्यानलहरु विज्ञापन समावेश हुने निःशुल्क,सशुल्क के हो, सो खुलाउने अनि विभागले अनुगमन गरेपश्चात् मात्रै लाइसेन्स पाउने गरेका थिए ।यसका साथै उनीहरुले नेपालमा सिग्नल वितरक गर्ने आधिकारिक सम्पर्क व्यक्ति वा संस्थामार्फत गर्ने हो वा नेपालमा सञ्चालित एमएसओ र डिजिटल केबलहरुसँग डाइरेक्ट सम्झौता गरी सञ्चालन गर्ने, सो समेत खुलाउनुपर्ने व्यवस्था गरियो ।यसरी विदेशी टेलिभिजन च्यानलहरुले आफ्नो मुलुकबाट स्याटेलाइटमा अपलिंक हुने र नेपालमा क्वाम, छातालगायतका उपकरणका साथै इन्कोडर र डिकोडर राखेर डाउनलिंक गर्नुपर्ने, यसरी डाउनलिंक गरेपश्चात् सो सिग्नल डिजिटल केबलहरुले लोकल केबल अपरेटर– एलसीओ हुँदै ग्राहकहरुको घर–घरमा पु¥याउने, ग्राहकहरुले घरमा सेटअप बक्स राखेर विदेशी च्यानलको मनोरञ्जन लिँदै आएका थिए । यसरी विदेशी च्यानलहरु ग्राहकको घरमा पुग्न कम्तीमा ५–६ स्टेपको प्रक्रिया पार गर्नुपर्ने व्यवस्था थियो ।
विदेशी टेलिभिजन च्यानल ः
विदेशी च्यानलहरुको केही कुरा साबिकसरह नै छ ।उनीहरुले आफ्नो प्रसारण केन्द्र रहने मुलुकको प्रसारण मन्त्रालयबाट अनुमतिपत्र लिन्छन् ।उनीहरुले आफ्नो च्यानल स्याटेलाइटको लागि अपलिंक गर्छन् । यतिसम्म त ठीक छ ।विदेशी च्यानलहरुले आफ्नो देशमा विज्ञापन प्रसारण गर्दै कार्यक्रम देखाउनका लागि कुनै रोकतोक नहुने नै भयो ।त्यसैले स्याटेलाइटका लागि छोडेको च्यानलमा पनि विज्ञापनसहित अपलिंक हुने भयो ।सो च्यानल नेपालमा इन्कोडर, डिकोडर,क्वाम, छातालगायतका उपकरणहरुको सहयोगमा डाउनलिंक गर्नुपर्ने हुन्छ ।यहाँ डाउनलिंक हुँदा क्लिनफिड नहुने नै भयो अर्थात् विज्ञापनसहित डाउनलिंक हुने भयो । तर अब नेपालमा विज्ञापनसहित डाउनलिंक गरे पनि त्यो च्यानल वितरण गर्दा विज्ञापन कटाएर मात्रै वितरण गर्नुपर्ने भयो ।यसका लागि नेपालमा विदेशी च्यानलको डाउनलिंक गर्न अनुमतिपत्र पाएको आधिकारिक वितरक वा व्यक्तिले प्रत्येक च्यानल पी.आई.आर.डी. (प्रोफेसनल इन्टिग्रेटेड रिसिभर÷डिकोडर) मा हालेर विज्ञापनको ठाउँमा खालि राखी वा कट्टा गरी आउटपुट दिँदा विज्ञापनरहित बनाएर मात्रै ग्राहकहरुलाई दिनुप¥यो र सो कुरा विभागले पनिआईपी लिंकमार्फत मनिटरिङ गरिहरेको हुन्छ ।अर्थात्पीआईआरडीसम्म विदेशी मुलुकको जस्तैएफईईडी आउने भयो अर्थात्इन्पुटसम्म विज्ञापनसहित, पीआईआरडीमा प्रोसेसपश्चात् आउटपुट नतिजामा चाहिँ क्लिनफिड हुन प¥यो । यसको लागि पीआईआरडी च्यानलवालाकै हातमा हुने भयो ।अर्थात् कन्ट्रोल र कमान्ड विदेशी च्यानलका मालिकसँग हुने भयो मात्रै पीआईआरडी नेपालमा रहने भयो अनि नेपालमा पीआईआरडी रुँघेर बस्नेले विज्ञापन आउने बेलामा कुनै संकेत पाउने भयो तर संकेत पाएर पनि गर्न सक्नेचाहिँ केही भएन ।
प्रसारण विभाग ः
सूचना तथा प्रसारण विभागको प्रमुख कार्य भनेको क्लिनफिडको मनिटरिङ गर्ने नै हो ।यसका साथै विभागले नेपालमा सञ्चालन हुन चाहने विदेशी च्यानलहरुलाई डाउनलिंकको लाइसेन्स प्रदान गर्दै आएको देखिन्छ ।पछिल्लो समय राष्ट्रपतिबाट विज्ञापन नियमन गर्ने ऐन, २०७६ पारित भएपश्चात् विभागले नेपालमा प्रसारण हुन चाहने विदेशी टेलिभिजन च्यानलहरुलाई समेत अनिवार्य क्लिनफिड हुनुपर्ने नत्र डाउनलिंक लाइसेन्स नै नदिने गरी कडाइ गरिरहेको अवस्था थियो भने गत असारमा नवीकरणको समयमा २०७७ कार्तिक ७ अर्थात् क्लिनफिडको समयमा क्लिनफिड हुने भनी प्रतिबद्धता गराएर मात्रै नवीकरण गरेको थियो ।यसका साथै विभागले २४ घण्टा नै मनिटरिङ गर्न भनी विभागमा ८ वटा टेलिभिजन स्क्रिनहरु जोडेर मनिटरिङको संयन्त्र जडान गरिसकेको छ ।जसमा नेपालमा टेलिभिजन च्यानल वितरण गर्ने (स्वदेशी र विदेशी) सबै एमएसओ, डीटीएच, आईपीटीभी, एमएमडीएस, डीटीटीबी लगायत अन्य सञ्चारमाध्यमहरुलाई तिनीहरुले टेलिभिजन वितरण गर्ने अन्तिम आईपी लिंक विभागलाई उपलब्ध गराउन निर्देशन दिइसकेको र उनीहरुले प्रोभाइड गर्ने आईपी लिंक विभागको मनिटरिङ सर्भरमा जडान गरी कुन वितरक (एमएसओ, डीटीएच, आईपीटीभी, एमएमडीएस, डीटीटीबी) हरुमा उपलब्ध हुने टेलिभिजनहरुको सम्पूर्ण विवरण विभागमा पनि राख्ने गरी सर्भर सिस्टम विकास गरिसकेको छ । यसरी प्राप्त सर्भर सिस्टम विभागले २४ घण्टा नै मनिटरिङ गर्न सक्ने र अनुमतिपत्रमा उल्लिखित सर्तका साथै विभागले समय–समयमा दिएका निर्देशनहरु पालना गर्नुपर्ने अन्यथा भएमा विभागले मनिटरिङ कक्षबाटै सचेत गराउन,च्यानल प्रसारण कट अफ गर्न सक्ने व्यवस्था गरेको देखियो ।
विज्ञापन बोर्ड ः
नेपालको विज्ञापनसम्बन्धी सम्पूर्ण कार्यको मनिटरिङ गर्ने,नीति निर्माण गरी कार्यान्वयन गर्ने, प्रचलित कानुन विपरीतसरकारले प्रसारण गर्न रोक लगाएका विज्ञापनहरु प्रसारण भएमा कानुनबमोजिम कारबाही गर्ने,सरकारी निकायहरुबाट वितरण हुने विज्ञापनहरु एकद्वार प्रणालीबाट वितरण गर्ने मुख्य उद्देश्यले विज्ञापन बोर्ड गठन गर्न लागिएको देखिन्छ ।जसको कानुनी आधारको रुपमा विज्ञापन नियमन गर्ने ऐन क्रियाशील रहेको, साथै नियमावली पनि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस भएको देखिन्छ ।नेपालको विज्ञापन बजारलाई विस्तार गर्न सहयोग पु¥याउने, साथै विदेशी च्यानलहरुले विज्ञापन प्रसारण गरेमा सोलाई कारबाही गर्ने अधिकार पनि बोर्डलाई रहेको देखिन्छ ।
केबल टेलिभिजन महासंघ ः
नेपालमा टेलिभिजन व्यावसायीहरुको हकहित संरक्षण र प्रवद्र्धन गर्न भनेर करिब आधा दर्जन जति महासंघहरु सक्रिय रहेका छन् ।यस्ता महासंघहरुको मुख्य कार्य भनेको आफ्ना सदस्य टेलिभिजन च्यानलहरुको बजार विस्तार गर्ने, प्रसारणसम्बन्धी समस्या र अवरोधलाई निराकरण गर्दै लैजाने,सरकारलाई टेलिभिजन र प्रसारणसम्बन्धमा नीति निर्माण गर्दा मागेको खण्डमा सुझाव र सल्लाह दिने आदि रहेको छ । केबल टेलिभिजन व्यवसायीहरुले २०७३–७४ तिर क्लिनफिड हुनपर्छ भनेर सरकारले प्रस्ताव ल्याउँदा उक्त प्रस्ताव तुहाउनेसम्मको कार्य गरेकै हुन् ।तर अहिले स्थिर सरकारका अगाडि झुक्न बाध्य भएका छन् तर यसको यो मात्रै कारण नहुन सक्छ । २०७३ पश्चात् हालका दिनसम्म करिब १०० भन्दा बढी टेलिभिजन च्यानलहरुले प्रसारणको अनुमतिपत्र लिइसकेका छन् भने भोलि क्लिनफिड भएर विदेशी च्यानल घट्दा सोमा आउने विज्ञापनहरु आफ्नोमा आउन सक्ने भनी मुख बाएर बसेका छन्। अर्को कुरा, हरेक टेलिभिजन व्यवसायीहरु कुनै न कुनै रुपमा विज्ञापन एजेन्सी र महासंघसँग जोडिएका छन् ।अर्को कुरा, पछिल्लो समय नेपालमा राष्ट्रवाद मौलाएको सोही समयमा भारतीय मिडियाहरु गोदी मिडिया बन्दै नेपालको राष्ट्रियता र साम्प्रदायिकतामा खलल पर्ने गरी प्रस्तुत हुन थालेका कारण विगतमा क्लिनफिड हुन हँुदैन भनेर च्यानलहरु काटेर ब्ल्याक डाउन गर्ने केबल महासंघ र यसका पदाधिकारीहरु सरकारका सामु लतारिन बाध्य भएको जो–कोहीले पनि सजिलै बुझ्न सक्छ ।यसका साथै टेलिभिजन महासंघले आफ्ना सदस्यहरुलाई क्लिनफिड पनि जागरुक बनाउने,प्रशिक्षण गर्दिने, उपकरण सिफारिसलगायत च्यानल बिस्तार गर्न मद्दत पु¥याएकै छन् ।महासंघको धारणा र अडानले विगतमा सरकारसमेत पछाडि फर्कन साथै निर्णय सच्याउन बाध्य भएकै हो ।यसर्थ क्लिनफिड कार्यान्वयनमा महासंघले सरकारले आमसञ्चारदेखि दूरसञ्चार सबैमा लागू हुनुपर्ने भन्ने फरक मत राखे पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको अवस्था छ ।
विज्ञापन व्यवसायी महासंघ ः
नेपालमा क्लिनफिडको अवधारणा ल्याउने श्रेय विज्ञापन महासंघलाई दिँदा कुनै फरक पर्ने देखिँदैन । नेपालमा भारतीय च्यानलहरुमा विज्ञापन बज्न बन्द भएमा अझ डबिङ पनि हुन नपाएमा सो विज्ञापन नेपालमै सुटिङ गर्न नपाली मोडल नै राखेर आफ्ना उत्पादनको विज्ञापन गर्न भारतीयहरु नेपाल आउने हुँदा नेपालको विज्ञापन बजार दोब्बरले वृद्धि हुन्छ भनेर परिकल्पना जो ग¥यो सो अच्छानै थियो ।यसले एकातिर राष्ट्रवादलाई मद्दत पु¥यायो,अर्कोतिर कार्यान्वयन सफल भएमा चुनावी मसला पनि हुने भयो भनेर विदेशी धर्म–संस्कृति,खाना र नाना पनि नेपाल भित्रिनलाई स्यानिटाइज गरेसरह हुने नै भयो ।
सीमितताहरु ः
कार्तिक ७ लाग्नेबित्तिकै नेपालमा विदेशी च्यानलमा विज्ञापन हर्छ अनि सो विज्ञापन नेपाली च्यानलहरुमा आउन थाल्छ भन्ने थियो, यो कदापि हुनै सक्दैन र अर्को कुरा ७ कार्तिकपछि क्लिनफिड स्वतः सफल हुन्छ र यो सरकारको लागि ऐतिहासिक सफलता हो, यो पनि हुन सक्दैन । अहिलेको सिनारियो हेर्दा क्लिनफिडका केही सीमितताहरु देखिन्छन् । २४ घण्टा अनुगमन गर्ने टेलिभिजन मनिटरिङ गर्ने दक्ष प्राविधिक जनशक्ति खै,तालिम र स्रोत–साधन पनि अपर्याप्त नै देखिन्छ । विभागको अधिकार कटौती गरी प्राविधिक जनशक्तिविहीन बोर्डलाई सुम्पनु पनि अर्को जटिलता हो । निजामती प्राविधिक जनशक्ति हुने विभागको अधिकार राजनीतिक नियुक्ति हुने, साथै प्रशासनिक ज्ञान मात्रै हुने, जनशक्तिका कर्मचारी रहने बोर्डलाई दिइनुले पनि यसको कार्यान्वयन र अनुगमनमा थप चुनौती थपिने निश्चित छ । मनिटरिङमा बेवास्ता र जश लिने बेलामा होडबाजी चल्ने देखिन्छ ।र, सबैभन्दा महत्वपूर्ण कुरा त विज्ञापन काट्ने अधिकार विदेशी च्यानलहरुले सम्बन्धित मुलुकमा नै बसेर गर्ने सुविधा पाउनु अर्थात् क्लिनफिडको सोल्ड राइट विदेशीकै हातमै हुनु हो ।च्यानल उसैको,स्याटेलाइट उसकै,प्राविधिक सपोर्ट उसकै हुँदा विज्ञापन कट अफ गर्ने अन्तिम अधिकार पनि उसकै तर नेपालमा क्लिनफिड सफल भयो भनेर जश लिन होडबाजी मात्रै । अर्को कुरा,विदेशी च्यानलमा विज्ञापन प्रसारण हुन छोड्दैमा विदेशी मल्टिनेसनल कम्पनीहरुतथा एड एजेन्सीहरु नेपालमा पैसाको झोला बोकेर पक्कै आउँदैनन् होला। उनीहरुले पनि नेपालमासाक्षरता,टेलिभिजनमा पहुँच पुगेको जनसंख्या,विज्ञापनको प्रभाव,मोडलिङको अवस्था र सामान बिक्रीको अवस्थालगायतका विषयमा अध्ययन त पक्कै गर्छन् होला । अर्को कुरा, भारतले सजिलै नेपालमा आएर आफ्ना सामानको विज्ञापन गरी यहाँको विज्ञापन बजार बढ्न देला भनेर सोचिहाल्नु पनि अलिक हतारो नै होला ।
अन्यौलता ः
सबैभन्दा रोचक पक्ष त के देखिन्छ भने, क्लिनफिड कार्यान्वयनको समय सीमा घर्किसक्दासम्म नेपालमा प्रसारण हुने स्टारलगायतका च्यानलहरुले उपकरणहरु ल्याउन सकेका छैनन् । यसमा विभागको पेलान मात्रै रहेको, सहयोग र समन्वय कम रहेको देखिन्छ ।उपकरण आयात गर्ने प्रसारण विभागले वाणिज्य विभागलाई अनि वाणिज्य विभागले भन्सारलाई सिफारिस गर्नुपर्ने,बैंकमा एलसी खोल्नुपर्ने लगायतका झन्झटिला प्रक्रिया पार गर्नुपर्ने मात्रै होइन, उक्त सामान ल्याएर पुनः विभागका अधिकारीहरुले निरीक्षण गरेपश्चात् जोड्नुपर्ने अवस्था छ भने यता चाडबाडको मुखमा यो सबै प्रक्रिया, अनि यसअघि ८० दिनभन्दा लामो लकडाउन अनि फेरि २०–२२ दिनको निषेधाज्ञा ।
सबैभन्दा अन्यौलयता बढाउने विषय हो क्लिनफिडसम्बन्धी आ–आफ्नै बुझाइ ।टेलिभिजन प्रसारकहरुको बुझाइ के छ भने, विज्ञापन कटिएर रहने ग्यापमा आफ्नो कार्यक्रमको प्रोमो बजाउन,आगामी कार्यक्रमको झलक देखाउन पाइन्छ । यता सरकार विज्ञापन निमयन गर्ने ऐनमा क्लिनफिड भनेको क्लिन नै हुनुपर्ने अर्थात् विज्ञापन कटिएर रहने समय खालि नै हुनुपर्ने, कालो वा नीलो स्पेसआए आओस् भन्ने बुझिन्छ तर व्यवसायीहरु भने सञ्चार मन्त्रालयमा पछिल्ला दिनमा भएका विभिन्न चरणका छलफलहरुमा यो कुरा सहमति भएको भनी मख्ख देखिन्छन् ।अब हेरौं, आगामी दिनमा विज्ञापन कटिएको खालि समयमा प्रोमो बज्ने हो वा स्यास्या सुँसुँ गर्दै नीलो वा कालो स्क्रिन मात्रै देखिने हो ।
वास्तविक क्लिनफिड ः
नेपालमा अहिले जुन ढंगले क्लिनफिड लागू गर्ने तयारी भयो त्यो सही अर्थमा क्लिनफिडको मर्म विपरीत रहेको बुझिन आएको छ । नेपाल र भारतबीच समयमा समेत फरक पर्न जाने हुन्छ अर्थात् भारतमा विज्ञापन बज्दा नेपालमा कार्यक्रम नै आइरहेको हुन सक्छ । किनकि कम्तीमा १५ मिनेटको फरक छ ।अर्को कुरा, भारतले दिन लागेको क्लिनफिड नभएर फिड क्लिन अर्थात् स्याटेलाइटबाट नै क्लिनफिड हुनुपर्नेमा सो नभई स्याटेलाइटमा चाहिँ विज्ञापनसहित आउने, नेपालमा चाहिँ कट अफ गर्ने मेसिन र सफ्टवेयर राखेर जुन ढंगले तयारी हुँदै छ नि, यसले त नेपालमा क्लिनफिड भयो भनेर मूल्य बढाउने खेल मात्रै हो भन्दा फरक नपर्ला । भारतले छुट्टै स्याटेलाइटमार्फत क्लिनफिडवाला र ननक्लिनफिडवाला च्यानल वर्गीकरण गरेर दिनुपर्ने थियो अनि मात्रै स्याटेलाइट कस्ट भनेर मूल्य बढ्यो भन्दा पनि पत्याउने कुरा हुन्थ्यो । तर अहिले त २–४ महिनासम्म यो तयारी भएन, त्यो तयारी भनेर विज्ञापन नै देखाइदिने अनि फेरि नेपालमा जानी–बुझीकन विज्ञापनमा जालझेल गरेर फेरि विज्ञापनसहितका च्यानलहरु नै देखाउने प्रवृत्ति हुनसक्छ । किनकि भारतीय मिडिया र यसका गोदी मालिकहरुले यस्तो हर्कत नगर्लान् भन्न सकिँदैन । अनि अर्को कुरा, भारतीयले नेपाललाई आर्थिक,सांस्कृतिक र राजनीतिक हिसाबमा सधैँ पेलिरहेकै थियो, अबसञ्चारको क्षेत्रमा समेत एक स्टेप पछि हटेर दुई स्टेप अघि नबढ्ला भन्न सकिन्न । यसतर्फ सबै सरोकारवाला सचेत हुनु जरुरी छ ।
प्रतिक्रिया