मेचीपारिका जनतालाई झोलुङ्गेपुलको राहत

0
Shares

उत्तम नेपाल
भद्रपुर । झापाको मेची पारिको टापु भनेर वर्षौयताबाट परिचित गाउँ मेचीनदीमा झोलुङ्गे पुल सञ्चालनमा आएपछि सो वस्तीका वासिन्दालाई राहत भएको छ । वर्षायामको समयमा मेचीनदीमा आएको बाढीका कारण नेपाली भएपनि सवै भारतका बजारमा निर्भर हुने गरेका थिए । अति आवश्यक कामका लागि डुङ्गाको सहायताले सदरमुकाम आउन वाहेक अन्यले आँट गर्न सकेका थिएनन् ।

केही महिनायताबाट पुल सञ्चालनमा आएपछि भद्रपुर ३ महेशपुरमा रहेको सो वस्तीका जनता खुसी देखिएका छन् । हाल झोलुङ्गे पुल पार गर्नेवित्तिकै एउटा बजार लाग्न थालेको छ । मेचीवारि भचक वस्तीका भरत राजवंशीको जग्गामा हाल मेची वारि र पारिका स्थानीयले अस्थायी टहरा निर्माण गरेर होटल ,खाद्य सामग्री,माछा मासु पसल ,फास्ट फुड लगायतका सेवा सञ्चालनमा ल्याएका छन् ।

पुल सञ्चालनमा आएपछि यो ठाउँमा जनताले राहत महशुस गरेको टहरामा भेटिएका स्थानीय पिन्टु राजवंशीले बताउँनुभो । पुल हेर्न र टहरामा खाजा खान दैनिक सयजना भन्दा बढी मानिस आउने गरेको उहाँले सुनाउँनुभयो । भदौ महिनाबाट टहरा निर्माण गरी होटल सञ्चालनमा ल्याएको उहाँको भनाइ छ ।

कोरोनाका कारण होटलमा बिक्री कम भएको राहुलसिं राजवंशीले बताउँनुभयो । दैनिक १५ सय देखि २ हजारसम्म बिक्री हुने गरेको उहाँ बताउँनुहुन्छ । पुल सञ्चालनमा आएकै कारण यो क्षेत्रको स्वरुप फेरिदै गएको व्यवसायी भूपाल गिरीले बताउँनुभयो । पुल तर्ने वित्तिकै समतल भू– भागमा रहेको करिब डेढ विघा जमिनमा हाल धमाधम टहराहरु निर्माण भइरहेका छन् ।

भद्रपुर नगरपालिकाको सवैभन्दा जोखिमयुक्त सो गाउँमा प्रहरी वस्दै आइरहेपनि गत फागुन यताबाट कोरोनालाइ मध्यनजर गर्दै सशस्त्र प्रहरी महेशपुर विओपी पनि स्थापना भइसकेको छ । यहाँका जनता पुल नभएका कारण सम्बन्धित कार्यालयमा सेवा लिन आउन नसकिरहेको अवस्थामा अब सहज भएको निलम राइ बताउँनुहुन्छ । स्थानीय सरकारले यो वस्तीको उजागरका लागि ल्याइएको मेचीपारि तरकारीबारीलाइ मुख्य पेशा बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।

यहाँका जनताको मूख्य पेशा नै खेति किसान भएकोले सस्तोमा तरकारी खान पाइने उहाँले जानकारी दिनुभयो । हाल सञ्चालनमा आएका होटलमध्ये केहीमा गगँटोका परिकार मुख्य रहेको छ । झोलुङ्गे पुल पार गरेर गगँटोको स्वाद लिन होटल सञ्चालकहरुले अनुरोध गरेका छन् । मेचीपारिका जनताले उत्पादन गरेका तरकारीलाइ यही क्षेत्रमा सब्जी बजार लगाएर नमुना गाउँ बनाउन स्थानीय सरकारले योजना अघि सार्नु पर्ने स्थानीयको माग छ ।

हाल निर्माण भइरहेको स्थानमा निःशुल्क विजुली बत्ती सञ्चालनमा ल्याइएको र खानेपनि तथा सौचालयको लागि प्रकृया अघि बढेको वडा नम्बर ३ की अध्यक्ष कमला थुलुङ्ले बताउँनुभयो । व्यवस्थित रुपमा सो स्थानलाइ व्यवस्थापन गरिने उहाँको भनाइ छ । मेचीपारि तरकारी बारी भएकोले बजार व्यवस्थापन गरि सो स्थानलाइ नमुना वनाइने उहाँको भनाइ छ ।