नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि हुने भएको छ।
अनुकुल मौसम, केही मात्रामा क्षेत्रफल पनि वृद्धि भएको र रोग किराको प्रकोप कम भएकाले सुन्तला उत्पादन ५ प्रतिशतले बढ्ने अनुमान गरिएको हो । पर्वतमा अघिल्लो वर्ष ३ हजार ६ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष झण्डै तीन हजार ८ सय ३२ मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र पर्वतले जानकारी दिएको छ । जिल्लामा विगत केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको छ। गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले वृद्धि भएको थियो। सुन्तलाको फल लाग्ने बेला केही ठाउँमा असिनाले क्षति गरेको भए पनि समग्र उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।
‘यस बर्ष कृषि उत्पादनका हरेक क्षेत्र जस्तै सुन्तला उत्पादन पनि बढेको छ।’ उहाँले भन्नुभयो‘मौसम र उत्पादन क्षेत्र बढेका कारण उत्पादन बृद्धि हुँदै गएको छ ।’ पर्वतमा ७ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । किसानले मल, किटनाशक विषादिको प्रयोग, बगैचा सुधार गरेको तथा यसवर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरुमा असर पारेको छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वतको जलजला क्षेत्र र मोदी गाउँपालिकाका विभिन्न वडालाई जोनको रुपमा विकास गरिएको छ। जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरापालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशीला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, विहादि गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ।
बोटमै खरिद गर्न आए ब्यापारी
सुन्तला उत्पादन बढेपछि पर्वतको सुन्तला पकेट क्षेत्रमा खरिदका लागि ब्यापारी बोटमै आउन थालेका छन । बोटमै सुन्तला खरिद गर्न ब्यापारीहरु आउन थालेको देउपुरका कृषक टिकाराम तिमिल्सिनाले बताउनुभयो । पर्वतको सुन्तला पोखरा हुँदै चितवन, काठमाडौं, काकडभित्ता, बुटवल आदि स्थानमा निर्यात हुन्छ ।
जिल्लामा सवैभन्दा बढी बाँसखर्कमा झण्डै यस वर्ष पाँच करोडको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ भने मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ। यी दुईवटै गाउँको मुख्य पेशा नै सुन्तला खेती बनेको छ।
जलजलाको बाँसखर्कमा माघ लागेपछि मात्र सुन्तला टिप्न सुरु हुन्छ। अन्य क्षेत्रबाट पनि सुन्तला बिक्री सुरु भैसकेको कृषकहरुले जनाएका छन् । जिल्लाको देउपुर, त्रिवेणी, हुवास, तिलाहार, पकुवा लगायतका क्षेत्रमा भने सुन्तला पाक्न थालेका छन् । अहिलेसम्म बजारमा बिक्रीका लागि भने नआएको केन्द्रले जनाएको छ।
प्रतिक्रिया