प्रहरीको खोरमा नक्कली बैंक ग्यारेन्टी बनाउने ‘बोहोरा’

0
Shares

राम धामी, डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकामा नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएका निर्माण व्यवयायी पक्राउ परेका छन् । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले बोहरा निर्माण सेवाले नक्कली बैंक ग्यारेन्टी बनाएको भन्दै किटानी जाहेर दिएपछि बोहरा निर्माण सेवाका प्रोपराइटर बोहरालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पक्राउ गरेको थियो । आवश्यक अनुसन्धान गरेर कारबाहीका लागि निर्माण व्यवसायी बोहरालाई डडेल्धुरा ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताउनुभयो । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । बोहरा निर्माण सेवाले परशुराम नगरपालिकाका–५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कली बैंक ग्यारेन्टीपत्र बनाएर १० लाख भुक्तानी लिएको थियो ।
पक्राउ परेका बोहरालाई थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको जिम्मा लगाएपछि अदालतबाट म्याद थप गरेर हिरासतमा लिई थप अनुसन्धान गरिने प्रहरी प्रमुख डीएसपी नेपालले जनाउनुभयो । यसअघि परशुराम नगरपालिकाले नक्कली बैंक ग्यारेन्टी पेस गरेको आशंकामा निर्माण कम्पनीलाई पत्राचार गर्दै तीन दिनभित्र सक्कली कागजात पेस गर्न पत्राचार गरेको थियो ।
सो अवधिमा सक्कली बैंक ग्यारेन्टी पेस गर्न नसकेकाले बोहरा निर्माण सेवाले लिएको पेस्की रकम रु. १० लाख र तीन महिनाको हर्जना ब्याज रकम थप ३३ हजार ५ सय असुलउपर गरिसकेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरूले बताउनुभयो । निर्माण कम्पनीलाई थप कारबाहीका लागि आवश्यक छलफल गर्न मंगलबार नगर कार्यपालिकाको बैठक बोलाइएको उहाँ बताउनुहुन्छ ।
नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखाले बैंकको लेटरप्याड दुरुपयोग गरेर नक्कली कागजात पेस गरेकाले बोहरा निर्माण सेवालाई कारबाहीको माग गर्दै कञ्चनपुर प्रहरीलाई किटानी जाहेरी दिएकोमा हाल कीर्ते कागजात बनाएको अभियोगमा अनुसन्धान थालिएको र परशुराम नगरपालिकाले पनि उजुरी दिएमा ठगी मुद्दाअन्तर्गत थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
हाल डडेल्धुरा प्रहरीको हिरासतमा रहेका बोहरा निर्माण सेवाका प्रोपराइटर लोकबहादुर बोहराले भने आफ्नो कम्पनीका तर्फबाट काम गराउने जिम्मेवारी दिइएका व्यक्तिबाट सो गलत कार्य भएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परशुराम नगर कमिटीका सदस्य दिलबहादुर बोहराले बोहरा निर्माण कम्पनीको कागजात प्रयोग गरेर वडा कार्यालय भवन निर्माणको ठेक्कामा काम गर्दै आएको स्थानीय बताउँछन् । निर्माण कम्पनीका प्रोपराइटर बोहराको बयानका आधारमा सो कार्यमा संलग्न अन्य व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याइने प्रहरी प्रमुख डीएसपी नेपालको कथन छ ।