विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा शाक्य

0
Shares

काठमाडौं, (नेस)
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिने निर्णय सरकारले गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णयबाट प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालक र शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोक्नुभएको हो । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ ।
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएका शाक्यले सोमबार पदबहाली गर्नुभएको छ । उहाँ तीन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अध्ययन तथा अनुसन्धानका क्षेत्रमा खर्च हुने पैसा विदेशिनबाट रोक्ने ध्येयका साथ उक्त कम्पनी स्थापना गर्नुभएको हो ।