अवैध लागूऔषध सहित पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौं, नागार्जुन नगरपालिका-३ ईचङ्गुनारायण बस्ने लाल बहादुर बिष्टलाई १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ किलो १ सय ८० ग्राम चरेस जस्तो देखिने वस्तु सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिष्टको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त परिमाणको पदार्थ र वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ बैरियाघाटबाट नियन्त्रित लागूऔषध ५० एम्पुल फेनारगन, ५० एम्पुल  बुप्रिनोर्फिन र ५० एम्पुल डाइजेपाम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्‍तकोशी नगरपालिका-१ बस्ने ३० वर्षीय भुमिराज थापा र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय ब्रिटिस थापा मगर रहेका छन् । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.८ प ९०९५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकल चालक ब्रिटिस र मोटरसाइकलमा सवार भुमिराजलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१० जमुनाहबाट ८० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बर्दिया राजापुर नगरपालिका-५ बस्ने २० वर्षीय डम्मर चलाउने र नेपालगंज उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय फरमान राई रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेका उनीलाई उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।