रहेनन् ‘नख्खु जेल ब्रेकर’ लामा

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरका पूर्वसांसद तथा ‘नख्खु जेल ब्रेकर’ वीरबहादुर लामाको ७० वर्ष उमेरमा काठमाडौंको पाटन अस्पतालमा निधन भएको छ । आईसीयूमा उपचाररत लामाको आइतबार विहान करिब ४ बजे निधन भएको हो ।
तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य उहाँ दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुवै मृगौलाले काम गर्न छाडेका थिए । उपचारमा आर्थिक समस्या परे पनि सहयोग जुट्न सकेन ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले वीरबहादुर २०३३ सालको ‘नख्खु जेल ब्रेकर’ का रूपमा रहेको बताउनुभयो । नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दीमध्ये एक हुनुहुन्थ्यो वीरबहादुर । लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिको सभापति हुनुभएको थियो ।
२०३३ मा लामासहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिस्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए । २०६२÷०६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद् सदस्य रहनुभएका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित हुनुभएको थियो ।
लामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेल निवासी हुन् । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र–३ बाट उहाँ निर्वाचित हुनुभएको थियो । उहाँ २०६८ सालमा तत्कालीन नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टीमा लाग्नुभएको थियो ।
जातीय पहिचानसहित राज्य निर्माणका विषयमा तत्कालीन नेकपा एमालेभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए । तर, उहाँ पछिल्लो समय राजनीतिमा सक्रिय हुनुभएको थिएन । उहाँ पञ्चायती व्यवस्थाविरोधी तथा राजनीतिक, सामाजिक परिवर्तनको आन्दोलनका योद्धा हुनुहुन्थ्यो । उहाँका पत्नी, २ छोरा र ३ छोरी हुनुहुन्छ ।