किशोरी बेच्ने गिरोह जेल चलान

0
Shares

हरिहर नेपाल, विराटनगर
सुनसरीको रामधुनी नगरपालिका घर भएकी १८ वर्षीया किशोरीलाई प्रलोभन देखाएर बेच्नका लागि भारत लैजाने गिरोहका नाइकेसहित तीन जना जेल चलान भएका छन् । ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा पक्राउ परेका तीन जना अभियुक्तहरूलाई मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजालसले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशपछि पक्राउ परेका मोरङको लेटाङ नगरपालिका ३ घर भई रामधुनी नगरपालिका ५ झुम्कामा बस्ने २२ वर्षीया मनिका ढकाल र सप्तरीको विष्णुपुर गाउँपालिका–५ का २८ वर्षीय सुमितकुमार मण्डल पुर्पक्षका लागि मोरङ कारागार चलान भएका छन् । सोही मुद्दाका प्रतिवादी सप्तरीको तिलाढी कौलारी गाउँपालिका–१ का नाबालकलाई भने विराटनगरस्थित बाल सुधार गृह पठाइएको छ । उनीहरूले सुनसरीको रामधुनी नगरपालिकाका किशोरीलाई प्रलोभन देखाएर भारत बेच्न लैजान लागेको अवस्थामा विराटनर १७ नेपाल र भारतको सीमानाका इस्लामपुरबाट असोज ४ गते प्रहरी र साना हातहरु नामक संस्थाले उद्धार गरेको थियो । सोही क्रममा पक्राउ परेकामध्ये गिरोहका मुख्य नाइके सुमित रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । किशोरीलाई भारत पु¥याएबापत १२ लाख रुपियाँ पाउने भएकाले लगेको पक्राउ परेका गिरोहका मुख्य नाइके सुमितले बयानको क्रममा बताएका छन् ।
बेचिनबाट जोगाएर साना सातहरू नामक संस्थाको सम्पर्कमा आएकी किशोरीलाई भारतमा बली दिन लगिएको आशंका गरिएको थियो । किशोरीलाई पूजाका लागि जाने भनेर उचाइ नाप्ने, महिनावरी भए÷नभएको सोधीखोजी गर्ने तथा शरीरमा कुनै दाग नभएको हेर्ने काम भएकाले उनलाई बली दिनका लागि लगेको हुन सक्ने आशंका गरिएको हो । सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपियाँको ‘डिल’ भएको खुलेको छ । प्रहरीका अनुुसार किशोरी भारत पु¥याइदिए १२ लाख रुपियाँ भिनाजु र उनका भाइले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो । त्यो पैसा ३ जनाले ४÷४ लाख लिने सहमति गरेका थिए । किशोरीलाई भारतसम्म पु¥याउने योजना पक्राउ परेका सुमितले मनिकाको सहयोगमा बनाएको अनुसन्धानबाट खुलको छ ।
सुमित र मनिकाको २ वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो । मनिका ती किशोरीको घरनजिक तरकारी पसल सञ्चालन गर्दै आएकी थिइन् । प्रहरीका अनुसार कक्षा १० मा अध्ययन गर्ने किशोरीको घरमा मनिकाको आउजाउ रहेको थियो । उनले किशोरीको आमा र बाबुलाई मामा–माइजू भनेर सम्बोधन गर्थिन् । मनिकाले ती किशोरीलाई विराटनगरमा पूजा रहेको र पूजामा एक जना कन्या खोजिएकाले जान भनेकी थिइन् । पूजामा टीका लगाएर दक्षिणा ५ हजार रुपियाँसहित नयाँ मोबाइल दिने भनेपछि मोनिका उनीसँग आएको अनुसन्धानबाट खुलेको प्रहरीले बतायो ।
बोर्डर कटाएपछि उनलाई एउटा गाडीमा हालेर लगिएको थियो । फारबिसगन्ज पुुगेपछि मात्र उनले आफू बेचिन लागेको थाहा पाएकी थिइन् । ‘विराटनगरमा पूजा भनेर ल्याएकोमा भारत प्रवेश गरेपछि म निकै डराएर रुन थालें र म चढेको गाडीबाट हामफालेर नेपालतर्फ आएँ ।’ –ती किशोरीलाई बयानको क्रममा बताएकी छन् । जोगवनी हुँदै लगिएपछि किशोरीले आफू गाडीबाट हामफालेर भागेको प्रहरीलाई बताएकी छन् । उनले बयानमा भनेकी छन्– ‘चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए ।’ त्यसक्रममा उनीहरु पक्राउ परेका हुन् ।
बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तवरबाट अरुसँग फोनमा कुरा गरेको थाहा पाएपछि भागेको किशोरीले बताएकी छन् । प्रहरीका अनुसार सुमितका भिनाजु रनद्धीर मण्डल भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माणसम्बन्धी ठेक्कापट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाइ वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत लगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।